‘माधव नेपालले ज्ञानेन्द्रको पाउमा भेटी चढाए झैं देउवाको पाउमा सत्ता सुम्पिए’


काठमाडौं – नेकपा एमालेकी सांसद नविना लामाले माधव नेपाललाई लोभी, पापी र गद्दारको संज्ञा दिँदै ज्ञानेन्द्रको पाउमा भेटी चढाए झैं देउवाको पाउमा सत्ता सुम्पिएकोमा आक्रोश व्यक्त गरेकी छन्।

‘हिजो राजा ज्ञानेन्द्रको पाउमा भेटी चढाए झैं गरी आज देउवाको पाउमा सत्ता सुम्पनु भयो। यो कुन विधि र पद्धति हो कमरेड? तपाईंको विधि र पद्धतिको कु–कृत्यलाई पार्टीका लाखौं कार्यकर्ता, शुभेच्छुक र जनताले कदापी माफी दिने छैनन्। तपाईंलाई अलिकति पनि लज्जा र हिनता महसुस भएन?’ उनले भनेकी छन्।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद लामाले कुण्ठा, द्वेष र विधि पद्धतिका नाममा भएको गुटबन्दीका कारण नेपालले एमाले विभाजन गरेको बताइन्।

५० बर्ष पार्टीमा अविछिन्न शासन गर्ने माधव नेपाललगायत अरु कमरेडहरुलाई यो स्थानमा आइपुग्न हाम्रो पार्टीको कार्यकर्ता तथा शुभेच्छुकहरुले गरेको योगदान, भूमिका, त्याग र बलिदानको मुल्य क़सले र कसरी तिर्ने? वहाँहरुलाई के जवाफ दिने? भन्दै लामाले प्रश्न समेत गरेकी छन्।

१५ वर्ष एमालेको नेतृत्व गर्दा माधव नेपालले केपी ओली र ओली पक्षधरलाई दमन गरेको स्मरण गराउँदै लामाले महाधिवेशनबाट हारेर पनि विधि पद्धतिको गीत गाउँदै लज्जास्पदरूपमा अध्यक्षमा दावी गरेकोमा आश्चर्यचकित भएको बताइन्।

उनले लेखेकी छन्, ‘तपाईंले १५ वर्ष पार्टीको नेतृत्व गर्दा अहिलेको पार्टी अध्यक्ष केपी ओली र उहाँको लाइनलाई कस्तो अवस्थामा पुर्‍याउनु भयो? पार्टीलाई लज्जास्पद हारसहित तेस्रो स्थानमा पुर्‍याउनु भयो। आफ्नो गुटकालाई मात्र पक्षपोषण गर्दै तिनलाई राम्रो ठाउँमा, आफ्ना नातागोता र छोराछोरी सबैलाई यथोचित व्यवस्थापन गर्नुभयो। अहिले आफू महाधिवेशनमा हारेपछि पनि ऐन मौकामा जस्केलाबाट छिरेर विधिको गीत गाउँदै अध्यक्ष पदमै दावा गर्ने? यो कुन विधि र पद्धति हो कमरेडरू? ‘

आफ्नो पार्टीको सरकार ढालेर, पार्टीलाई दनदनी बालेर त्यसको आगोमा नेपालले मज्जा लिइरहेको भन्दै जनताले सधैँ धिक्कार्ने बताएकी छन्। ‘आफ्नो पार्टीको सरकार र पार्टीनै दनदनी बालेर त्यसैमा आगो तापेर कस्तो न्यानो महसुस भईरहेको छ कमरेड? चैनको निन्द्रा छ?’ उनको प्रश्न छ।

बरु उनले पार्टी फ़ुटबाट जोगाउन भीम रावल, योगेश भटट्राई, गोकर्ण बिष्ट, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलगायतको भूमिका सम्मानजनक रहेको बताइन्।

प्रतिक्रिया