युरोपियन युनियनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता


काठमाडौं – नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । युरोपियन युनियनले दसौँ संस्करणको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिता घोषणा गरेको हो ।

असोज १ देखि ९ सम्म आयोजना हुने दसौँ संस्करण भर्चुअल रुपमा आयोजना हुनेछ । प्रतियोगितामा लैङ्गिक समानताका विषयमा बनेका फिल्म सहभागी हुन सक्ने युरोपियन युनियनले उल्लेख गरेको छ । लैङ्गिक विभेद, लैङ्गिक समानताका फाइदा, नेपालमा लैङ्गिक समानताको अवस्था आदि विषय उठाइएका फिल्मलाई प्रतियोगितामा प्राथमिकता दिइने पनि युरोपियन युनियनले जनाएको छ । यी मात्र नभएर लैङ्गिक समानताका विषयलाई छुने अन्य विषयमा बनाइएका फिल्म पनि प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा सहभागी हुने फिल्मकर्मी नेपाली नागरिक हुनुपर्ने र फिल्मको लम्बाइ ४० मिनेट भन्दा कम हुनुपर्ने युरोपियन युनियनले शर्त राखेको छ । नेपालमा बोलिने जुनसुकै भाषामा बनेका फिल्म प्रतियोगितामा सहभागी हुन सक्ने छन् । तर यसरी बनेका फिल्म अंग्रेजी भाषामा सब टाइटल गरेको हुनुपर्नेछ । यदि अंग्रेजीमा नै पुरै फिल्म खिचिएको छ भने त्यसलाई नेपालीमा सबटाइटल गरेको हुनुपर्ने युरोपियन युनियनले बताएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले आफ्नो फिल्म एमपी ४ फम्यार्टमा nepal.eufilmfestival@gmail.com भदौ १५ मध्यरात सम्ममा पठाइ सक्नुपर्नेछ । यसरी सहभागी हुन आएका फिल्मलाई युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले गठन गरेको निर्णायक समूहले मूल्याङ्कन गर्नेछ र फेस्टिभलको सुरुवातमै विजेताको घोषणा गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने फिल्मले ५ सय युरो प्राप्त गर्नेछ ।

प्रतिक्रिया