कोभिड नेपाल: बिरामीको चाप बढ्दो, काठमाडाैं उपत्यकाका अस्पताल कस्तो अवस्थामा छन् ?


काठमाडाैं – नेपालमा विगत केही सातामा कोरोनाभाइरस सङ्क्रमण बढेसँगै अस्पतालहरूमा पनि चाप बढेको बताइएको छ। बढी जनसङ्ख्या रहेको तथा देशका विभिन्न भागबाट आवतजावत बढी हुने सङ्घीय राजधानी काठमाडाैंका सरकारी तथा निजी अस्पतालहरूमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरू आउने सङ्ख्या निरन्तर बढ्दो क्रममा रहेको जनाइएको छ।

खास गरी सघन उपचार कक्ष (आईसीयू ) र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने मानिसहरूको सङ्ख्या बढ्दै गर्दा आफूहरूकहाँ त्यस्ता शय्या उपलब्ध नरहेको बीबीसीले कुराकानी गरेको अस्पतालहरूले जानकारी दिए।

मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार नेपालमा कुल परीक्षणको १९.४ प्रतिशतमा कोभिड-१९ पुष्टि भएको थियो। नेपालमा कोभिडका कारण मृत्यु हुने मानिसको सङ्ख्या १०,००० नाघिसकेको छ।

उपत्यकामा कोरोनाभाइरस सङ्क्रमण. तीन जिल्लामा झन्डै ११ हजार सक्रिय सङ्क्रमित. साउन २५ गते अपराह्णसम्मको तथ्याङ्क.

कति छ अस्पतालहरूको क्षमता?

सरकारी तथ्याङ्कअनुसार काठमाण्डू उपत्यकाका सरकारको स्वामित्व रहेका अस्पतालहरूमा जेनरल/एचडीयू शय्याको सङ्ख्या २,०६६ छ।त्यस्तै आईसीयूको सङ्ख्या ३११ र आईसीयू शय्यासँगै प्रयोग भएका भेन्टिलेटरको सङ्ख्या १३९ छ।

सूचीकृत १२ अस्पतालमध्ये चार वटामा मात्रै २०० भन्दा बढी जेनरल/एचडीयू शय्या छन्। त्यस्तै दुई अस्पतालमा मात्रै ५० भन्दा बढी आईसीयू छन्।

.

सबैभन्दा बढी धुलिखेल अस्पतालमा ६४ वटा आईसीयू शय्या छन्। त्यसपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५१ वटा त्यस्ता शय्या छन्। सरकारले विगतमा निजी अस्पतालहरूसँग पनि सम्झौता गरेर सरकारीमा शय्या प्राप्त गर्न नसकेका सर्वसाधारणहरूलाई ती अस्पतालमा पठाउने गरेको थियो।

तर कोरोनाभाइरस सङ्क्रमण फेरि बढ्न थालेको बताइराखिएका बेला हाल त्यस्तो नयाँ सम्झौता भने भइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिलेको अवस्थाबारे अस्पतालहरू के भन्छन्?

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राध्यापक डा. रवि शाक्य त्यहाँ हाल कोभिडको बिरामीका लागि भनेर छुट्टाइएको पूर्वाधार ‘लगभग भरिभराउ भएको’ बताउँछन्।

उक्त अस्पतालमा सोमवार बिहानसम्म २५८ जना भर्ना भएको जानकारी उनले दिए। पाटन अस्पतालमा आईसीयू र भेन्टिलेटर ‘पाइहाल्ने अवस्था नरहेको’ बताइएको छ।

‘कहिलेकहिले त हामीले बिरामी फर्काउनुपर्ने अवस्था आइसकेको छ,’ शाक्यले भने।पाटन अस्पतालमा कोभिडका नयाँ बिरामी भर्ना हुने औसत दर ३० प्रतिशत रहेको उनले जानकारी दिए।

सरकारले कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि लागु गरेको कडा प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्दै गर्दा त्यो दर १० प्रतिशत भन्दा कम रहेको उनले जानकारी दिए। पाटन अस्पतालमा कोभिडका लागि भनेर छुट्ट्याइएको शय्या सङ्ख्या ३०० छ भने अन्य बिरामीहरूका लागि ३५० वटा शय्या छुट्टाइएको छ।

शिक्षण अस्पतालको अवस्था पनि त्यस्तै देखिन्छ। ‘जसरी बाहिर खुला छ नि, भिड छ नि त्यही गतिमा त (सङ्क्रमित) बढेको छैन। तर हाम्रो आईसीयू कहिल्यै खाली हुनै पाएको छैन,” त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. दिनेश काफ्लेले भने।

हाल उक्त अस्पतालमा १०० जनाभन्दा बढी कोभिडका बिरामी भर्ना भएका छन्। कतिपय सामान्य लक्षण भएकाहरूलाई अस्पतालले परामर्श दिएर घर फर्काउने गरेको र आवश्यकता परेको खण्डमा फेरि आउन भनेको उनी बताउँछन्।

उक्त अस्पतालले कोभिडका बिरामीहरूका लागि भनेर ३० वटा आईसीयू र त्यति नै सङ्ख्यामा भेन्टिलेटर छुट्ट्याइएको बताइएको छ। बीबीसीले कुराकानी गरेका दुई निजी अस्पतालहरूले पनि आईसीयू र भेन्टिलेटर उपलब्ध नरहेको जानकारी दिए।

बिरामीको आफन्तका रूपमा गरिएको टेलिफोन संवादका क्रममा ग्रान्डी इन्टरन्याश्नल हस्पिटल र ह्याम्स हस्पिटलका प्रतिनिधिहरूले ‘तत्काल त्यस्ता सुविधा उपलब्ध गराउने नसकिने’ जानकारी दिए। दुवै अस्पतालले जेनरल वार्ड वा आइसोलेशन वार्डमा भने बिरामीका लागि स्थान रहेको बताए।

विगतमा भन्दा फरक के छ?

नेपालमा कोभिड बिरामीहरूको अत्यधिक चाप खेपेको अस्पतालमध्ये एक पाटनमा यसपालि आएका बिरामीहरूलाई अक्सिजनको व्यापक आवश्यकता नपरेको शाक्य बताउँछन्। ‘दोस्रो लहरमा जस्तै धेरै अक्सिजन चाहिने बिरामी छैनन्। हामीलाई अहिले गाह्रो भएको चाहिँ कोभिड, नन-कोभिड दुवैतिर अस्पताल भरिभराउ भएर छ,’ उनले भने।

विगतमा १० देखि २० लिटरसम्म अक्सिजन आवश्यकता पर्ने बिरामीहरू आएकामा यसपालि भने दुईदेखि छ लिटरसम्म अक्सिजन दिँदा अक्सिजनको मात्रा आवश्यकताअनुरूप कायम राख्न सकिएको उनी बताउँछन्।

कोरोनाभाइरस

प्रायःजसो खोप नलगाएका व्यक्तिहरू सङ्क्रमित भएको भए पनि खोप लगाएका केहीमा पनि सङ्क्रमण पुष्टि भएको बताइएको छ। ‘तर उनीहरूमा त्यति लक्षण देखिएको छैन। उनीहरूलाई भर्ना गर्नुपर्ने आवश्यकता कम छ,’ उनले भने।

अक्सिजनको व्यवस्थापनमा भने यसपालि विगतमा भन्दा बढी ध्यान पुर्‍याइएको अधिकारीहरू बताउँछन्। काफ्लेले पनि विगतमा भन्दा अस्पताल अक्सिजन उपलब्ध गराउने हिसाबले व्यवस्थित रहेको जानकारी दिए। हालको अवस्था ‘जटिल नरहे पनि’ सङ्क्रमण दर व्यापक रूपमा बढेको अवस्थामा भने केही ‘समस्या हुन सक्ने’ उनले बताए।

अहिलेको अवस्थाले के सङ्केत गर्छ?

कतिपयले अस्पतालहरूमा क्रमिक रूपमा चाप बढ्न सुरु भएसँगै नेपालमा कोभिडको तेस्रो लहर सुरु भएको हुन सक्ने बताए पनि काफ्ले त्यस्तो भनिहाल्ने अवस्था नरहेको ठान्छन्।

सरकारले निषेधाज्ञा जारी गरेर नियन्त्रण गरेको भाइरस अवस्था खुकुलो भएपछि फैलिन थालेको उनी बताउँछन्। ‘हिजोभन्दा कडा खाले भाइरस आए वा उत्परिवर्तन भएर अर्को भाइरस आइदिए तेस्रो लहर आउन सक्छ,’ उनले भने।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल पनि केही समयसम्म २,००० को हाराहारीमा स्थिर रहेको सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जानुमा प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो हुनु नै कारण रहेको बताउँछन्।

‘लहर दोस्रो, तेस्रो जे भने पनि त्यसले व्यवस्थापनमा धेरै फरक परेन। अहिलेसम्म हामीले यसलाई दोस्रो लहरको निरन्तरताकै रूपमा लिइरहेका छौँ,’ उनले भने।

उपचार

खोपको मात्रा विगतमा भन्दा बढाइएको भए पनि सर्वसाधारणहरू सचेत भने हुनुपर्ने अवस्था रहेको उनले जानकारी दिए। पौडेलका अनुसार नेपालका १४ जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या बढ्दो क्रममा छ।

त्यसमा झापा, मोरङ, सुनसरी, काठमाण्डू उपत्यका, पोखरा, रूपन्देही र सुर्खेत लगायतका जिल्लामा बढी चाप देखिएको उनले जानकारी दिए। विगतमा सरकारले निजी अस्पतालहरूमा खुला गरेका केन्द्र बन्द गरिसकेकामा अब त्यसलाई खोल्नुपर्ने शाक्यको भनाइ छ।

त्यसो नगरिए समस्या पर्ने सक्ने उनको भनाइबारे पौडेल भन्छन्: ‘यसलाई हामीले नजिकबाट हेरिरहेका छौँ। कोभिडका हकमा सुरुमा सरकारी अस्पतालहरू मात्रै तोक्ने हाम्रो नीति छ। सरकारी अस्पतालभन्दा बढी चाहिने स्थिति भएपछि मेडिकल कलेजहरूमा हामी जान्छौँ। त्यहाँ पनि शय्या भरिने अवस्था आएपछि निजी अस्पतालहरूसँग पनि सम्झौता गर्छौँ।’ बीबीसी

प्रतिक्रिया