

७४ पूरा भए ज्ञानेन्द्रः जो ३ बर्षको उमेरमै पहिलो पटक राजा भएका थिए

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह शनिबारदेखि ७४ बर्षका भएका छन्। विसं २००४ सालमा जन्मिएका उनी दुई पटक राजा हुने भाग्यमानीमा गनिन्छन्। तर, उनकै कार्यकालमा नेपालबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको सुरुआत भएको थियो।
उनलाई गणतन्त्रलाई स्वीकार गरी नारायणहिटी छाड्ने शालिन र सहनशील राजाका रुपमा पनि व्याख्या गरिन्छ। पछिल्ला दिनमा उनी भारतको हरिद्वारमा भएको कुम्भमेलामा भने श्री ५ कै हैसियतमा आतिथ्यता गरी कुम्भ स्नान गर्न पुगेका थिए।
राजा त्रिभुवनको शासनकालमा ज्ञानेन्द्र युवराज महेन्द्रको दोस्रो छोराको रूपमा काठमाडौँ, पुरानो नारायणहिटी राजदरबारमा जन्मिएका थिए। उनको जन्मपछि महेन्द्रलाई राजज्योतिषहरूले नव शिशुलाई सँगै राख्दा नराम्रो हुन सक्छ भनेकाले उनी मामाघरमा हुर्के।
२००७ को राजनीतिक घटनाको समयमा उनका पिता, हजुरबुवा र अन्य राजपरिवार सदस्यहरू भारतमा शरण लिएको बेलामा बालक राजकुमार ज्ञानेन्द्र मात्र नेपालमा रहेका राजपरिवार सदस्य थिए।
उनलाई प्रधानमन्त्री मोहन शमशेरले वि.सं. २००७ कात्तिकमा राजा घोषणा गरे। उनको राज्याभिषेक मात्र भएन, उनको नाममा मुद्राहरु समेत निष्काशन गरिएका थिए।
ज्ञानेन्द्र अहिले पत्नी कोमल, पुत्र पारससहित निर्मल निवासमा बस्छन्। बुहारी पूर्वयुवराज्ञी हिमानी शाह भने थाइल्यान्डमा छिन्। १८ असोज ०५८ र १९ माघ ०५९मा उनले चालेका राजनीतिक कदमका कारण राजनीतिक उथुलपुथुल भएको थियो।
यसैबीच, जनता बाढीपहिरो र कोरोना महामारीको चपेटामा रहेका कारण यसपटकको जन्मोत्सव नमनाउने उनले पूर्वघोषणा गरेका थिए। निर्मलनिवास स्रोतका अनुसार त्यस्तो उत्सव मनाउने कुनै योजना छैन।

