निकुञ्जमा विशेष सुरक्षा अभियान


मुग्लिनचितवन राष्ट्रिय निकुञ्जमा विशेष सुरक्षा अभियान (स्वीप अपरेसन) सञ्चालन गरिएको छ । नेपाली सेनाले निकुञ्जको सबै क्षेत्रमा पुग्ने गरी (स्वीप अपरेसन) विशेष अभियान तीव्र पारेको हो । विशेषगरी बर्सात सकिएपछि निकुञ्जभित्र झाडी पातलो हुँदै जाँदा तस्करको पहुँच वन्यजन्तुसम्म पुग्न सक्ने भन्दै निकुञ्ज कर्मचारी र नेपाली सेनाको बटुक दल गणले विगत एक महिना अगाडिबाट शुरु गरेको विशेष अभियानलाई तीव्र पारेको छ ।

निकुञ्जलाई विभिन्न क्षेत्रमा विभाजन गरी निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल र नेपाली सेनाको बटुक दल गणका गणपति अरुण श्रेष्ठसहित सोही क्षेत्रका गुल्मपति र निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा हात्ती, डुङ्गा, गाडी, साइकल र पैदल गस्तीसहित स्वीप अपरेसन अझै एक महिना जारी रहने नेपाली सेनाको बटुक दल गणका गणपति श्रेष्ठले जानकारी दिए ।

विगतका वर्षमा अधिकांश चोरी शिकारीका घटना यसै मौसममा हुने गरेको तथ्याङ्कले देखाएको छ । पोष्ट नभएका क्षेत्रमा रातमा पोष्ट खडा गरी बस्ने काम पनि गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए । अधिकृत बरालले भने, ‘विगतका वर्षहरूमा यसै मौसममा चोरी शिकारीका घटना बढी हुने तथ्याङ्क छ, त्यसकारण चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुकदल गणले सुरक्षा गस्तीलाई बढाउनुका साथै सुरक्षाका रणनीति परिवर्तन गरी विभिन्न विशेष अपरेसन कारवाही सञ्चालन गरेका छौँ ।

निकुञ्जको चुरेदेखि महाभारत हुँदै घाँसे मैदानसम्मका सबै क्षेत्रमा पुग्ने गरी अभियान सञ्चालन गरिएको छ । बर्सातको समयमा वन्यजन्तु मरेर कुहिएको भए पनि थाहा लाग्ने र बाह्य व्यक्तिको प्रवेश भए जानकारी हुने भएकाले अभियान प्रभावकारी हुने संरक्षण अधिकृत बरालको भनाइ छ ।

निकुञ्ज र सेनाले पछिल्लो समयमा स्थानीयवासीले नै संरक्षण संवेदनशीलता नबुझ्दा समस्या आएको भन्दै कोर इलाका प्रवेश नगर्न निर्देशन पनि गरेको छ । संरक्षणका काम कारवाहीमा पछिल्लो समयमा राजनीतिक दबाबले समेत प्रभाव पारेको भन्दै सबै संरक्षणको भावलाई थप जागरुक गर्न संरक्षणमा खलल पुर्याउने जोकोहीलाई पनि निरुत्साहित गर्न संरक्षणकर्मीले माग पनि गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा भएको गैँडाको चोरी शिकारीका कारण सुरक्षा चुनौती बढेसँगै नियमित गस्तीहरू बढाउनुका साथै विशेष सैनिक कारवाही सञ्चालनमा ल्याएको छ । संवेदनशील क्षेत्रमा प्रविधिजन्य उपकरण जडान, ड्रोनको प्रयोगबाट निगरानी तालिम प्राप्त कुकुर टोलीको समेत प्रयोग गरी दैनिक गस्तीका कार्यसञ्चालन गर्दै आइरहेको छ ।

(रासस)

प्रतिक्रिया