ज्याकेट चोर अन्जु यसरी बनिन् लागूऔषध कोकिन कारोबारी, छोरीसमेत प्रहरीको फन्दामा


काठमाडौं – प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले लागूऔषध कोकिनको कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा एकजना त्यस्तो महिला छन्, उनी लागूऔषध कोकिन कारोबारीमा यसरी संलग्न भइन् सुन्दा सबैलाई अचम्म लाग्छ।

एउटा ज्याकेट चोरी गरेकै आधारमा ती महिला लागूऔषध कोकिनको कारोबारी हुन पुगेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठ बताउँछन्। ती महिला हुन्, काठमाडौं महानगरपालिका–३ रानीबारी बस्ने ४३ वर्षीया अन्जु थापामगर।

अन्जुलाई ब्यूरोको टोलीले गत १० साउनमा रानीबारीबाटै पक्राउ गरेको हो। एसपी श्रेष्ठका अनुसार पक्राउ परेकी अन्जुको साथबाट ३२९ ग्राम कोकिन र ७ लाख ५० हजार नगद समेत बरामद भएको छ। अन्जु मात्र होइन उनकी छोरी समेत पक्राउ परेकी छन्।

यसरी भइन् कोकिन कारोबारी
अन्जु लाजिम्पाटस्थित थ्री ब्रदर्स होटलमा काम क्लिनिङको काम गर्थिन्। सोही क्रममा एकदिन अर्थात २०१९ डिसेम्बर १९ मा बोलिभिया नागरिक सोही होटलमा आइपुगेका थिए। सफा गर्ने क्रममा विदेशी नागरिकले लगाउने एउटा ज्याकेट चोरिन्।

जाडो महिना थियो। चोरेको ज्याकेट लुकाएर घर पुर्याइन्। घरमा पुगेर लगाउन खोज्दा ज्याकेटभित्र केही वस्तु रहेको थाहा पाइन्। त्यसपछि उनले उक्त ज्याकेटमा के रहेछ भनेर च्यातेर हेरिन्। ३ वटा सेता पोका देखिन्।

त्यसपछि उनले तीनवटै प्याकेट सुरक्षित तरिकाले २० दिनसम्म घरमै राखिन्। त्यो बीचमा उनी होटलमा गइरहन्थिन्। एकदिन उनलाई त्यो सेतो पोका के रहेछ भन्ने चासो लाग्यो र नजिकैको छिमेकी मुना तामाङलाई भनिन्।

सेतो पोका कोकिन हुन्छ भन्ने अलिअलि थाहा पाएकी ३९ वर्षीया मुनाले अर्का छिमेकी रक्की आलेमगरलाई भनिन्। रक्की पहिलादेखि नै गाँजा सेवनकर्ता हुन्। धेरथोर उनलाई लागूऔषधबारे थाहा थियो।

त्यतिबेलासम्म सेतो पोकाको बारे उनीहरु ३ जनाबाहेक अरुलाई थाहा छैन। त्यसपछि रक्कीमार्फत उक्त सेतो पोका कोकिन हो÷होइन पुष्टि गर्न गोरखा बारपाक सुलिकोट गाउँपालिका–५ लाकुरीबोटका ४५ वर्षीय सुरोज तामाङसमक्ष कुरा पुग्यो। सुरोज र रक्की साथी रहेको पाइएको छ।

सुरोजले त्यसअघि पनि गाँजा, चरेसलगायतको कारोबार गर्ने गर्थे। सुरोजको आग्रहमा १० ग्राम उक्त सेतो धुलो अन्जुले परीक्षणको लागि पठाइन्। सुरोज र रक्की पोखरा पुगेर परीक्षण गर्दा कोकिन नै भएको पुष्टि भयो।

उनीहरुको पोखरा गएको समयमै अन्जुले ३९ वर्षीय भारतीय नागरिक सन्दिप पटेललाई समेत परीक्षणको लागि थोरै मात्रमा उक्त सेतो धुलो दिइन्। दुवैतिर परीक्षण गर्दा उक्त धुलो कोकिन रहेको पुष्टि भयो।

अनि उनीहरु पाँचजना मिलेर उक्त कोकिन बेच्नको लागि ग्राहक खोज्न थाले। त्यहाँ पटेल र सुरोजहरुको चिनजान छैन। दुवै पक्षलाई हात लिएर अन्जु मुख्य नाइके थिइन्।

बिक्री गर्ने क्रममा उनीहरुले सुरुमा ५ ग्रामको ५ हजारसम्म बेच्न थाले। पछि उनीहरुको कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य महंगो रहेको थाहा पाएपछि एक ग्रामकै ३० हजारसम्म बिक्री गर्न थाले।

यसरी उनीहरु समूह–समूहमा विभाजित भएर कोकिनको कारोबार गरिरहे।

नेपालमा लागूऔषध कोकिनको सेवनकर्ता कमै मात्रामा भेटिन्छन्। त्यसैले उनीहरुले धनाढ्य व्यक्ति नै खोज्नुपथ्र्यो। हत्तपत्त जो कसैले कोकिन किनेर सेवन गर्दैनन्।

पछि एक ग्रामकै ३० हजारसम्म पर्ने भएपछि अन्जुले आफ्नी छोरी रायल थापामगरलाई समेत बिक्री गर्न लगाइन्। रायल पनि गाँजा सेवनकर्ता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

गाँजा खाइरहने रायलको सम्बन्ध धनाढ्य व्यक्तिहरुसँग राम्रो थियो। त्यसपछि उनले ठमेलका नाम चलेका होटल, रेष्टुरेन्टहरुमा गएर कोकिन बेच्न थालिन्।

त्यतिमात्र होइन ठमेलमै जाँदाआउँदा रायलको सम्बन्ध धादिङ निलकण्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय मिराज ढकाल, काठमाडौं झोछेंका ४९ वर्षीय सुदन शाक्यसँग राम्रो थियो। त्यसपछि उनीहरु समेत यस कार्यमा जोडिए।

सुदन ठमेलका व्यापारी समेत हुन्। त्यसैले पनि सुदनको कोकिन सेवनकर्ताहरुसँग राम्रो सम्बन्ध थियो। सुदन आफैं पनि सेवनकर्ता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सुदनको मार्फत रायलले ३ सय ग्राम कोकिन बेचेको खुलेको छ।

सुदनकैमार्फत धादिङ निलकण्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय मछिन्द्र धमला समेत कोकिन कारोबारीमा मुछिएका छन्। यसरी प्रहरीले अन्जुमार्फत कोकिन कारोबारमा संलग्न १३ जनालाई पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका १३ जनालाई आज ब्यूराले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

यसरी पुग्यो प्रहरीलाई सूचना
कोकिनको कारोबार विभिन्न पार्टीहरुमा गरिरहेको सूचना एक महिनाअघि ब्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हृदय थापासम्म पुग्यो। ‘जतिबेला बजारमा २ किलोसम्म कोकिन छ भन्ने सूचना आएको थियो,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा थापाले बताए।

त्यसपछि ब्यूरोको टोली उनीहरुको पछाडि लाग्यो। अनुसन्धान गर्दै जाँदा प्रहरीले ७ साउनमा कामपा–१६ पकनाजोलबाट ३ जना लागूऔषध कारोबारीहरुलाई पक्राउ गर्यो। उनीहरुको साथबाट ५०० ग्राम कोकिन बरामद भएको थियो।

उनीहरुको बयानको आधारमा प्रहरीले सोहीदिन मन गुरुङको कोठाबाट सुन जस्तो देखिने पहेलो धातु २ किलो ४०० ग्राम समेत बरामद गर्यो। त्यसपछि प्रहरीले अन्जुलाई पक्राउ गरेर अनुसन्धान थालेको हो। अन्जुको बयानपछि अन्य व्यक्तिहरु मुछिएका हुन्।

उनीहरुको साथबाट जम्मा १ केजी ५१२ ग्राम कोकिन, २५ ग्राम चरेश, ९ ग्राम गाँजा, गाँजा तान्ने २३ वटा सोली, डिजिटल तराजु २ थानसमेत बरामद गरेको छ। बरामद कोकिनको अवैध बजारमूल्य ४ करोड ५३ लाख ६० हजार रहेको एसएसपी थापाले बताए।

७ लाख ५० हजार बरामद
अन्जुकी छोेरी रायलले ७ लाख ५० हजार रुपैयाँसम्मको कोकिन बिक्री गरेको पाइएको छ। एसएसपी थापाका अनुसार जम्मा कोकिनमध्ये उनीहरुले ७३८ ग्राम बेचेको पाइएको छ।

बाँकी १५१२ ग्राम प्रहरीले बरामद गरेको छ।

ब्यूरोका एसपी श्रेष्ठ भन्छन्, ‘छोरीले बिक्री गरेबापतको रकम आमा अन्जुलाई ल्याएर राख्न दिएको ७ लाख ५० हजार रुपैयाँ समेत बरामद भएको छ। उनीहरुले प्रहरीसमक्ष दिएको बयानमा उक्त कुरा स्वीकारेका छन्।’

उनीहरुमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आज एउटा ज्याकेट चोर लागूऔषध कोकिनको कारोबार गर्ने मुख्य नाइकेको रुपमा परिचित छ।

००००
बोलिभिया नागरिकलाई प्रहरीले त्यतिबेला ७५० ग्रामको ८ वटा कोकिनको पोका समेत नियन्त्रणमा लिएको थियो। लाजिम्पाटमा रहको होटल लास्ट गार्डेनको कोठा नम्बर ३०४ बाट उनीहरु पक्राउ परेका हुन्।

त्यतिबेला पक्राउ पर्नेमा बोलिभियाका रोबर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेज थिए।

पछिल्लो समय अमेरिकामा उत्पादन हुने कोकिनको कारोबारमा नेपाल ट्रान्जिट हुने गरेको छ।

प्रतिक्रिया