दार्चुला तुइन प्रकरण: भारतीय दूतावास अगाडि युवा संघको विरोध प्रदर्शन


काठमाडौं – गत शुक्रबार दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा नेकपा एमाले माधव नेपाल पक्षका युवा संघले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।

उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, जयसिंह महराको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्‍यादती बन्दर गर, जयसिंह महराको मृत्‍यु होइन, हत्या हो, जयसिंह महराको परिवारलाई राहतको व्‍यवस्था गर ‘ लगायतका प्लेकार्डसहित काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा नेपाली युवक बेपत्ता भएको भन्दै संघले घटनाको छानबिन गरी दोषीलाई हदैसम्म कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार दार्चुलामा तुइन तरेर सदरमुकाम खलंगातिर आउने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा ३५ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

भारतले भने एसएसबीले तुइनको डोरी नकाटेको दावी गरेको छ । गृह मन्त्रालयले घटनाको छानबिनका लागि सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया