वैशाखमा प्रदेश १ मा फिल्म महोत्सव
इटहरी– नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले फिल्म सम्बन्धी वृहत अन्तरक्रिया गरी आफ्नो आगामी दिनको कार्ययोजना सार्वजनिक गरेको छ । अहिलेको समयमा कोरोनाको कारणले सुस्ताएको फिल्म उद्योगलाई चलायमान गराउने उद्देश्यले आगामी २०७८ वैशाखमा नेपाली फिल्म महोत्सव प्रदेश १ आयोजना गर्ने निर्णय गरेको छ । प्रदेश १ नेपाली फिल्मको एउटा प्रमुख बजार र छायांकनको लागि एकदमै उपयुक्त स्थान भएकोले यहाँको फिल्मकर्मीहरुलाई उत्साहित गराउदै प्रदेश न १ को पर्यटकिय स्थानलाई प्रबर्धन गर्ने उद्देश्यले नै फिल्म महोत्सव आयोजना गर्न लागिएको हो ।
महासंघका अध्यक्ष अरुणकुमार प्रधानले महोत्सवमा प्रदेश न १ का फिल्मकर्मीहरुलाई प्रोत्साहित गर्नको लागि प्रदेश १ मा बनेका कथानक फिल्म, छोटा फिल्मका लागि छुट्टै तथा नेपालमा बनेका अन्य फिल्महरु र छोटा फिल्महरुको छुट्टै विधाअन्तर्गत रहेर फिल्महरु प्रदर्शन गर्ने योजना रहेको बताए । उनका अनुसार महोत्सवमा अग्रज फिल्मकर्मीहरुलाई सम्मान गरिने र प्रदेश १ का फिल्मकर्मीहरुको जानकारीसहित भएको फिल्म स्मारिका विमोचनसँगै फिल्म कार्यशाला हुनेछ ।
कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश न १ सँग अहिले सम्म १३ वटा विभिन्न पेशागत संघ, संस्था आबद्ध रहेको महासचिव दिनेश कोइरालाले बताए । कार्यक्रममा महासंघका सल्लहकार तथा नेपाल चलचित्रकर्मी संघ प्रदेश १ का संयोजक परशुराम चौधरीले पार्टीगत फिल्मको संस्था फरक फरक भए पनि नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले कुनै पार्टीको झन्डा नबोकेको र यो स्वतन्त्र फिल्मकर्मीहरुको महासंघ भएर नै अघि बढ्ने बताए । अग्रज कलाकार पुष्प श्रेष्ठ ले प्रदेश १ मा स्थापना भएको महासंघमा आफु पनि आबद्ध भएर अघि बढने र अन्य प्रदेश १ का फिल्मकर्मीहरु पनि यसै महासंघमा आबद्ध भएर अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा नगेन्द्र राईको अध्यक्षतामा नृत्यकर्मी संघ प्रदेश नम्बर १ गठन गरिएको छ । जसमा अध्यक्षमा अध्यक्ष नगेन्द्र राई (सुनसरी), उपाध्यक्षहरुमा एल सि श्रेष्ठ (झापा), प्रणिता तामाङ( सुनसरी), सचिवमा राजा सुब्बा लावती (मोरङ), कोषाध्यक्षमा अन्जली माझी (झापा), सदस्यहरुमा संकोच प्रधान (इलाम), पेम्बा लामा (ताप्लेजुङ), मिथुन ठाकुर (उदयपुर), मनोज राजवंशी (मोरङ), बसन्त बस्नेत, कृष्णबहादुर राई, सन्तोष मगर छन् ।