

म्याद सकिएका सामान ‘रि-लेबलिङ’ गर्ने कम्पनीमा प्रहरीको छापा, ठूलो परिमाणमा सामानहरु बरामद

काठमाडौं – म्याद सकिएका सामानहरु रिलेबलिङ गर्ने कम्पनीमा प्रहरीले छापा हानेको छ। महानगरीय अपराध महाशाखाको टोलीले आइतबार काठमाडौं महानगरपालिका–१५ स्थित सानो भर्याङनजिकै रहेको समिट कर्मसियल कम्पनीमा छापा मारेको हो।
म्याद सकिएका सामनहरु रिलेबलिङ गर्दै ठूला–ठूला स्टोरदेखि भाटभटेनीमा समेत पठाउने कार्यमा संलग्न रहेको आरोपमा महाशाखाको टोलीले अविनाश अग्रवाललाई समेत नियन्त्रणमा लिएको छ। अग्रवालले घर नै भाडामा लिएर म्याद सकिएका सामग्रीहरु रिलेबलिङ गर्ने गरेको पाइएको छ।
अग्रवालको कम्पनीबाट कस्मेटिक सामान, कोलिन, बडी स्प्रे, रुम स्प्रेलगायत अन्य सामग्रीहरु ठूलो परिमाणमा बरामद भएको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले जानकारी दिए। ‘ती सामानहरु ठूला–ठूला स्टोरदेखि भाटभटेनीसम्म पुग्ने गरेको पाइएको छ,’ उनले भने।
अग्रवालको कम्पनीबाट २ ट्रकभन्दा बढी सामान बरामद भएको एसपी पंगेनीले बताए। म्याद सकिएका सामानहरु रिलेबलिङ गर्ने कम्पनीमा छापा मार्न महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुबेर खापुङ, एसपी कृष्ण कोइराला, एसपी पंगेनी आफै पुगेका छन्।
थप विवरण आउन बाँकी।

