नेपाली मूलका बाबुको छोरी भारतीको संघर्षपूर्ण जीवन
मुम्बई(एजेन्सी)– बलिउड अभिनेता सुशान्त सिंह राजपूत मामलामा लागुऔषधको कुरा जोडिएपछि फिल्म र टेलिभिजनजगतका कैयौं हस्तीहरुसँग नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले सोधपुछ गर्यो । एनसीबीले यो मामलामा कैयौ स्टारको घरमा छापा नै मार्यो । यो छापा मार्ने पछिल्लो श्रृंखलामा प्रख्यात कमेडियन भारती सिंहको घर पनि परेको छ ।
भारतीलाई एनसीबीले शनिबार मुम्बईस्थित उनको घरबाट पक्राउ गरेको छ । एनसीबीका अनुसार उनको घर र प्रोडक्सन हाउसमा छापा मार्दा ८६ दशमलब ५ ग्राम गाँजा बरामद भएको छ । विभागका अधिकारीहरुले भारती र उनका पतिले गाँजा सेवनको कुरालाई स्वीकारेको दाबी गरेका छन् ।
को हुन भारती सिंह ?
‘द ग्रेट इण्डियन लाफ्टर च्यालेन्ज’ र ‘कमेडी सर्कस’बाट एक स्टेण्डअप कमेडियनका रुपमा घर–घरमा आफ्नो पहिचान बनाएकी भारती मूलत पन्जाबकी हुन् । उनले १२ वर्ष यता स्टेण्डअप कमेडीको क्षेत्रमा आफ्नो सफलता हासिल गरिसकेकी छन् । यहीकारण उनलाई ‘कमेडी क्वीन’ पनि भनिन्छ ।
३६ वर्षकी भारतले आफ्नो यो सफलताको कथा निकै लामो समयको संघर्षपछि मात्रै लेखेकी हुन् । भारतीको जन्म पन्जाबको अमृतसरमा १९८४ जुलाई ३ मा भएको थियो । उनी दुई वर्षको हुँदै उनको पिताको निधन भएको थियो । उनको आमा त्यस समयमा २२ वर्षकी थिइन् । उनका पिता नेपाली मूलका थिए र आमा पन्जाबी थिइन् । उनको बाल्यकाल गरिबीमै बित्यो । यो कुरा उनले कैयौं अन्तरवार्तामा भनिसकेकी छन् ।
पैसा कमाउन आफ्नो मोटोपनको मजाक उडाइन्
भारतीले आफ्नो एक अन्तरवार्तामा उनले पैसा कमाउनका लागि आफ्नो गरिबी र मोटोपनको मजाक उडान शुरु गरेको बताएकी थिइन् । जी टिभिमा आउने कार्यक्रम ‘जजबात’को समयमा उनले कसरी आफ्नो आमाले घर चलाउनका लागि कपडा सिलाउथिन् र अहिले पनि सिलाई मेसिनको आवाज सुन्दा आफूलाई कसरी त्यो बाल्यकालिन समयमा पुर्याउछ भन्ने कुरा बताएकी थिइन् ।
यो शोमा उनले आफ्नो दुई भाइ बहिनी पहिले नै भएको र त्यही कारण आफ्नी आमाले आफूलाई जन्म दिन नचाएको खुलाएकी छन् । ‘उहाँले मलाई गर्भमै मार्नका लागि हरेक प्रयास गर्नुभएको थियो । तर सायद मेरो जन्म निश्चित भइसकेको थियो’, उनले भनेकी छन् । दुई वर्षको उमेरमै बुवाको निधन भएपछि उनले सानैमा धेरै दुःख देखिन् । उनकी आमा एक कम्बल उद्योगमा काम गर्थिन् । त्यसपछि उनी सलमा गोटी लगाउने काम गर्थिन् । उनले आफूहरुसँग पैसा नहुँदा धेरै रुने गरेको र आमाले पैसा माग्दा मान्छेहरुले गाली गर्ने गरेको बताएकी थिइन् ।
अमृतसरको कलेजमा पढ्दा देखि नै उनले स्टेण्डअप कमेडियन कपिल शर्मालाई चिन्दथिइन् । कपिल र उनको सफलताको यात्रा पनि करिब करिब एकै किसिमको थियो । त्यहीकारण भारती पक्राउ परेपछि ट्वीटर प्रयोगकर्ताले कपिल शर्मालाई पनि ट्रोल बनाइरहेका छन् ।
शुटर भारती
भारती कमेडियनका अलावा शुटरका अलावा तीर पनि चलाउछिन् । उनले आफू कमेडियन नभएको भए ओलम्पिकमा सुटिङ या तीर चलाउने खेलाडीको रुपमा भारतको प्रतिनिधित्व गर्ने बताएकी छन् ।
कमेडी करियर
भारतीले रियालिटी शो ‘द ग्रेट इण्डियन लाफ्टर च्यालेन्ज’बाट आफ्नो करियर शुरुवात गरेकी थिइन् । उनी यो शोमा सेकेण्ड रनरअप बनिन् । त्यसपछि उनले ‘कमेडी सर्कस ३ का तड्का’मा सहभागिता जनाइन् । यसपछि उनी सबै कमेडी शोमा देखिइन् र दर्शकले उनलाई मनपराउन थाले । उनले ‘कमेडी सर्कस महासंग्राम’, ‘कमेडी सर्कस के सुपर स्टार’, ‘कमेडी सर्कस का जादू’, ’कमेडी सर्कस के तानसेन’, ‘कमेडी सर्कस का नया दौर’, ‘कहानी कमेडी सर्कस की’ र ’क‘मेडी सर्कस के अजूबे’ लगायत कैयौं शोमा देखिइन् । उनी ‘नच बलिए’, ‘झलक दिखला जा सीजन ५’ र ‘बिग बोस’मा पनि देखिएकी छन् । हिन्दी फिल्ममा उनले ‘खिलाडी–७८६’ र ‘सनम रे’ जस्ता फिल्ममा पनि अभिनय गरेकी छन् ।
भारतीले सन् २०१७ को डिसेम्बर ३ मा हर्ष लिम्बाचियासँग विवाह गरेकी थिइन् । हर्ष एक लेखक, निर्माता र कार्यक्रम सञ्चालक हुन् । उनीहरुको भेट ‘कमेडी सर्कस’को समयमा भएको थियो । उमेरले हर्ष भारतीभन्दा तीन वर्ष कान्छा छन् ।