नक्कली प्रमाणपत्रका आधारमा ग्राण्डी अस्पतालमा काम, महाराजगंजबाट पक्राउ परे विजयश्याम


काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नेपाल मेडिकल काउन्सिल (एनएमसी) को प्रमाणपत्र किर्ते गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–२ का ३६ वर्षीय विजयश्याम रंजित पक्राउ परेका हुन्।

आइतबार ललितपुर महानगरपालिका–२ का ३६ वर्षीय रंजितलाई पक्राउ गरेको ब्यूरोका प्रहरी नायब महानिरीक्षक (डिआईजी) धीरज प्रताप सिंहले जानकारी दिए। रंजित काठमाडौं महानगरपालिका–३ महाराजगंजबाट पक्राउ परेका हुन्।

रंजितले सन् २०११मा चीनबाट एमबिबिएस गरेका छन्। विदेशमा पढेर पास भए पनि नेपाल मेडिकल काउन्सिलको परीक्षा दिएर पास भएपछि मात्रै काम गर्न पाइने व्यवस्था छ।

तर रंजितले सन् २०१२ मा नेपाल आएर किर्ते कागज बनाएर काम गर्न थालेको प्रहरी अनुसनधानबाट खुलेको छ। डिआईजी सिंहले भने, ‘यसबारे पहिला नै उजरी परेको थियो। त्यसैले उनलाई भेरिभाइ गर्न नियन्त्रणमा लिएका छौं। थप खुल्दै जाला।’

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार रंजितले चीनबाट डाक्टरी पास गरेको देखिएको छ। तर, नेपालमा काम गर्न एनएमसीको परीक्षा दिनपर्छ। त्यो परीक्षा पास गरेर सर्टिफिकेट वा नम्बर पाएपछि मात्रै काम गर्न पाइन्छ।

डिआईजी सिंहले भने, ‘त्यसपछि मात्रै आधिकारिक रूपमा काम गर्न पाउँछ। तर रंजितले चीनबाट एमबिबिएस पास गरे पनि एनएमसीको परीक्षा पास नगरेको पाइएको छ।’

प्रहरीले डाक्टर हुँ भन्ने बुझाएको नम्बर एनएमसीबाट भेरिफाइ नभएपछि उनलाई पक्राउ गरेको हो। उनले उक्त प्रमाणपत्रका आधारमा काठमाडौंको ग्राण्डी अस्पतालमा काम गरेका थिए।

कागजात किर्ते भएको हल्ला चलेपछि रंजित फरार भएका थिए। पक्राउ परेका रंजितविरुद्ध प्रहरीले लिखतसम्बन्धी कसुरको आधारमा कारबाही गर्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेको छ।

प्रतिक्रिया