

बारपाक सुलिकोटका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखा बारपाक–सुलिकोट गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङसहित ४ जनाबिरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगले आइतबार अनुसन्धान आयोग ऐन, २०४९ को दफा १८ र दफा ३५ को उपदफा १ बमोजिम चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
आयोगले प्रमुख प्रशासकीय अधिकृत गुरुङ, लेखापाल गंगा बहादुर घले र इन्जिनियर सुजन अंगाईले निर्माण व्यवसायी सोम एण्ड अमर कन्स्ट्रक्सन प्रा.लि.का अमर बहादुर गुरुङसँगको मिलेमतोमा आर्थिक हिनामिना गरेको जनाएको छ।
कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा बजेट विनियोजन भै गाउँपालिकाको वडा नम्वर ७ झाँक्रीचोकदेखि ताकुसम्मको सडक निर्माणको काम गर्दा रकम हिनामिना गरेको दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत गुरुङ हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत छन् भने लेखापाल घले र इन्जिनियर अंगाई अहिलेपनि सोही गाउँपालिकामा कार्यरत छन्।
आयोगले दायर गरेको आरोपपत्रमा अधिकृत गुरुङ, लेखापाल घले, इन्जिनियर अंगाई रे ठेकेदार गुरुङसँग ३ लाख ६८ हजार ४२० भ्याटसहित बिगो माग गरेको छ।

