

रौतहटमा दुई पक्षबीचमा झडप हुँदा १० जना घाइते, ६ वटा मोटरसाइकलमा आगजनी

काठमाडौं – रौतहटमा जग्गाको पुरानो विवादलाई लिएर दुई पक्षबीच झडप भएको छ। झडपको क्रममा १० जना घाइते भएका छन् भने ६ वटा मोटरसाइकल र एउटा स्कुटरमा आगजनी भएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका–८ वस्तीपुरमा दुई पक्षबीच झडप हुँदा आगजनीबाट मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ।
झडपमा परि आकाश चौधरी, मिथुन चौधरी, दिलिप चौधरी, विनिक चौधरीलगायतका घाइते भएका हुन्। घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
झडपको क्रममा स्थानीय श्रीराम चौधरी, लक्ष्मी चौधरी, जगनारायण चौधरी, दिपनारायण चौधरीको घर समेत तोडफोड भएको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।
लामिछानेकाअनुसार झडपको खबर पाउन साथ सो स्थानमा तुरुन्तै ठूलो संख्यामा सुरक्षाकर्मी पुगेकाले कुनै मानवीय क्षति भने हुन पाएन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फेरि झडपको स्थिति आउन नदिन प्रहरीले सजकता अपाइरहेको छ। हाल सो बस्तीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

