

कालिमाटी डिएसपी बोहराले गरेको ‘एउटा गल्ती’

काठमाडौं– महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) अपिल बोहरा नेतृत्वको प्रहरी टोलीले कुलेश्वरस्थित शिव श्रेष्ठको साढे ३ तल्ले पक्की घरबाट ७ जना नियन्त्रणमा लियो।
जुवा खेलाएको भन्ने अभियोगमा पक्राउ गरिएका उनीहरूलाई कानुनी दायरमा ल्याउने काममा प्रहरी अगाडि बढेको छ। जुवा खाल भनि जनाइएको उक्त प्रकरणमा दुईलाख ३८ हजार नगद र विभिन्न बैंकका ब्यक्तिका नाममा काटिएका करिब आठ लाख रूपैयाँ बराबरका चेक समेत बरामद भएको बताइयो।

महानगरीय प्रहरी वृत्त कालीमाटीले जारी गरेको यो तस्बिर हेर्नुहोस्
कुलेश्वरका ४४ वर्षीय शिव श्रेष्ठ, काभ्रेको चौरीदेउराली–६ घर भई कुलेश्वर बस्ने ४४ वर्षीय यादव चौलागाई, धादिङको थाक्रे गाउँपालिका–८ घर भई कलंकी बस्ने ४१ वर्षीय राजु पौडेल, चितवनको भरतपुर–१३ घर भई कुलेश्वर बस्ने ३१ वर्षीय राजिव श्रेष्ठ, ४४ वर्षीय केशव प्रसाद मुडवरी, बाराको जितपुर घर भई कलंकी बस्ने ४१ वर्षीय श्याम तामाङ र कैलालीको बर्दगोरिया–३ घर भई कालीमाटी बस्ने २८ वर्षीय प्रेम बडुवाल प्रहरी नियन्त्रणमा छन्।
समाजमा गलत कामको नियन्त्रण गर्ने प्रहरीको कर्म ठिक भए पनि उसले कतिपय नीतिलाई बिर्सिएको भेटिएको छ।
तर, प्रहरीले यहि प्रकरणमा चर्चाका लागि नीति नै बिर्सेको छ। काम गरेको प्रचारमार्फत देखाउने क्रममा उसले नियन्त्रणमा रहेका सबैलाई हत्कडी लगाई अनुहार पनि छोप्न नदिएको तस्बिर जारी गरेको छ।
प्रहरी नीति र न्याय मामिला मिच्दै बोहोराले नियन्त्रणमा लिइएका व्यक्तिलाई लाइन लगाएर राखी प्रहरीलाई उभ्याएर तस्बिर खिचाएका थिए। आरोपितलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया पूरा नहुन्जेल प्रहरीले उनीहरूको अनुहार चिनिनेगरी सार्वजनिक गर्न नहुने नीतिमै उल्लेख छ।

वडा प्रहरी कार्यालय विर्ताले जारी गरेको यो तस्बिर हेर्नुहोस्
‘काठमाडौंमा काम गरेको देखाउनका लागि यस्तो सस्तो लोकप्रियताको काम हुन्छन्, गराइन्छन्’, प्रहरीका उच्च अधिकारी भन्छन्,‘यसरी आरोपितको अनुहार प्रस्ट देखिने गरीका प्रमाण अनुसन्धानका लागि राखिए पनि प्रचारका लागि तत्कालै जारी गर्नु उचित हुँदैन।’
अझ कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला अनिवार्य मास्क लगाउनुपर्ने व्यवाहारिक पक्षलाई समेत बेवास्ता गरी तस्बिरकै लागि मास्क खोल्न लगाइएको प्रष्ट हुन्छ।
डिएसपी बोहोराले प्रहरीको नीतिविपरित गल्ती गरेका हुन् भन्ने प्रमाण त प्रहरीकै अन्य प्रकरणमा आएका तस्बिर र समाचारले पनि स्पष्ट पार्छ।
एउटा उदाहरण हो, पर्साको।
शरीरमा चरेश बाँधेर सीमापार भारत लैजान लागेको चरेशसहित पक्राउ गरिएकालाई वडा प्रहरी कार्यालय विर्ताले पनि सार्बजनिक गरेको छ। तर उसले ति व्यक्तिलाई मास्क लगाएरै सार्वजनिक गरेको छ। वीरगञ्ज ३ का अभिषेक श्रीवास्तव र ५ का धिराज पटेल पक्राउ परेको विवरण दिए पनि उसले तस्बिरमा नीतिलाई पच्छ्याएको छ।
‘प्रहरीको काम अपराध नियन्त्रण गर्ने नै हो। तर उसको जिम्मेवारी अदालतले वा कानुनी निकायले अपराध पुष्टि नगरेसम्म आरोपितको अनुहार गोप्य राखिदिनु पनि हुन्छ’, जानकारहरू भन्छन्,‘सस्तो लोकप्रियता र काम गरेको देखाउनका लागि कतिपय प्रहरी अधिकारीले यो मर्मलाई विर्सिएको वा गम्भीरताका साथ नलिएको देखिन्छ।’

