

भोलीको सचिवालयमा प्रचण्डले प्रतिवेदन फिर्ता नगर्ने, ओली बैठकमै उपस्थित नहुने

काठमाडौं– भोलीका लागि बालुवाटारमा डाकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुने भएका छन्।
बैठक केही दिन पर सार्नका लागि ओलीको आग्रहलाई लिएर महासचिव विष्णु पौडेल खुमलटारमा प्रचण्डलाई भेट्न पुगेका थिए। सो आग्रह प्रचण्डले अस्वीकार गरेपछि ओली बैठकमा उपस्थित नहुने भएका हुन्।
शुक्रबारको सचिवालय बैठकमा प्रचण्डले एक रुपमा नै राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमा अध्यक्ष ओलीविरुद्ध विविध विषयमा टिप्पणी गरिएकोप्रति आपत्ति जनाइएको थियो।
ओली पक्षका नेताहरूले उक्त प्रतिवेदनलाई फिर्ता लिनका लागि प्रचण्डलाई आग्रह गरेका थिए। उता उक्त प्रतिवेदन कुनै पनि हालतमा फिर्ता हुन नसक्ने प्रचण्डले पौडेलमार्फत सन्देश पठाएको बताइन्छ।

