राजस्व छली गरेको पुष्टि भएपछि नक्कली सेनिटाइजर उत्पादन गर्ने प्याकुरेल कारागार चलान


काठमाडौं – राजस्व छली गरेको पुष्टि भएपछि गुणस्तरहीन ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा पक्राउ परेका सर्जिकल हाउसका सञ्चालक आशिष प्याकुरेल पुर्पक्षका लागि थुनामा गएका छन्। प्याकुरेललाई ललितपुर जिल्ला अदालतले थुनछेक बहसबाट पुर्पक्षको लागि जेल चलान गरेको हो।

१० जेठमा ‘बजारमा विषाक्त स्यानिटाइजर रहेको’ सूचना प्राप्त भएलगत्तै महानगरीय अपराध महाशाखाबाट निगरानीका लागि परिचालित ‘इन्टेलिजेन्स’ टोलीले प्याकुरेललाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको थियो। पक्राउपछि अनुसन्धानको क्रममा राजस्व समेत छली गरेको पाइएको प्रहरीले जनाएको छ।

राजस्व कर छली गरेकोले थप अनुसन्धान गर्नुपर्ने भएकाले थप अनुसन्धान तथा कारबाहीको लागि प्याकुरेललाई पुर्पक्षका लागि जेल चलान गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए।

‘प्रस्तुत मुद्दाका प्रतिवादी प्याकुरेलले ललितपुरमा सञ्चालन गरेको कम्पनीले हालसम्म आन्तरिक राजश्व कार्यालयमा आफ्नो कम्पनी दर्ता गराई स्थायी लेखा नं. लिई प्यानमा दर्ता गराएको समेत नदेखिएको र निजले हालसम्म आयव्यय विवरण पेश गरेको देखिन नआएकोले निजले राजस्व छली गर्दै आएको देखिएको हुँदा सोतर्फ समेत अनुसन्धान गर्नुपर्ने देखिएकाले थप अनुसन्धान कारबाहीको लागि आवश्यक कागजातहरु आन्तरिक राजश्व कार्यालय ललितपुर २, लखनखेल ललितपुरमा पठाइएको हुँदा निज प्रतिवादी प्याकुरेल प्रस्तुत मुद्दाबाट छुटी जाने भएमा सो तर्फ अनुसन्धान कारबाहीको लागि आन्तरिक राजश्स कार्यालय ललितपुर २ मा पठाउने प्रायोजनार्थ सम्बन्धित प्रहरीको जिम्मा लगाई महानगरीय प्रहरी परिसरमा फिर्ता पठाईदिनु हुन समेत अनुरोध छ,’ अदालतको व्यहोरामा भनिएको छ।

यो पनि पढ्नुहोस्

यी हुन् नक्कली स्यानिटाईजर उत्पादन गर्ने सक्कली प्याकुरेल

अवैधानिक रुपमा चलाइरहेको र स्वास्थ्यको मापदड विपरित नक्कली सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल, शितल हाइटमा रहेको कारखानामा अपराध महाशाखाको टोलीले छापा मारेको थियो।

कारखानाबाट सेनिटाइजर, सेनिटाइजर उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थलगायतको सामग्रीहरु बरामद गरेको थियो।

सोहीदिन महाशाखाले त्रिपुरेश्वरस्थित प्याकुरेलले सञ्चालन गरेको लाइफ लाइन सर्जिक हाउसमा छापा मारेर करिब १ करोड ८० लाख मूल्यको सेनिटाइजर बरामद गरेको थियो।

प्याकुरेलले आरसिबी इन्डष्ट्रिज, पर्सा नामक कम्पनीको ब्यानरमा उत्पादन गरेको ‘७५ प्रतिशत प्लस’ नामको सेनिटाइजरमा २४ प्रतिशत मेथानोल मिसिएको ल्याब परीक्षणबाट पुष्टि भएको छ।

ललितपुर महालक्ष्मी बस्ने सुनसरी रामधुनी नगरपालिका–१ ठेगाना भएका लाइफ लाइन सर्जिकल हाउसका सञ्चालक २६ वर्षीय प्याकुरेलविरुद्ध प्रहरीले कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत मुद्दा चलाएको थियो।

यसअघि प्याकुरेलमाथि महिला हिंसाको उजुरी परेकोले प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। उनले आफ्नै श्रीमतीमाथि हिंसा गरेको भन्दै गतवर्ष प्रहरीमा उजुरी परेको थियो।

प्रतिक्रिया