

जर्मनीसँग हारेपछि रोनाल्डो र फर्नाण्डोको यस्तो प्रतिक्रिया

एजेन्सी – शनिबार राति भएको युरोपियन च्याम्पियनसिपको खेलमा पोर्चुगल जर्मनसँग ४–२ गोलले पराजित भयो। प्रतिस्पर्धात्मक खेलमा पार्चुगलका दुई खेलाडीले आफ्नै पोष्टमा गोल गर्दा पोर्चुगलले नमिठो हार व्यहोर्नुपर्यो।
उक्त खेलमा पोर्चुगलले दुई खराब कीर्तिमान बनाएको छ। पोर्चुगल महादेशीय प्रतियोगिताको एकै खेलमा २ आत्मघाती गोल गर्ने पहिलो टोली बनेको छ।
कन्टिनेन्टल प्रतियोगितामा यसअघि एकै खेलमा कुनै पनि टोलीले २ गोल आफ्नै पोष्टमा गरेका थिएनन्। यतिमात्रै होइन, पोर्चुगलले युरोपियन च्याम्पियनसिपमा अर्को पनि खराब कीर्तिमान पनि बनाएको छ।
युरोकपको उपाधि जितिसकेको टोलीले प्रतियोगिताको एकै खेलमा ४ गोल खाएको यो पहिलोपटक हो। जर्मनीसँग हारेपछि पोर्चुगलका प्रशिक्षक फर्नाण्डो सान्टोसले यो पोर्चुगलका लागि रुनुपर्ने दिन भएको बताएका छन्।
‘आज रुनुपर्ने दिन हो तर हामीले यसलाई उल्ट्याउनै पर्छ,’ खेल सकेपछि सान्टोसले भने। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जर्मनीविरुद्धको नतिजाले निराश बनाएको प्रतिक्रिया दिएका छन्।
उनले पोर्चुगलको युरोकप यात्रा भने यहिँ नसकिएको बताएका छन्। ‘खेलको नतिजाले केही हदसम्म निराश बनायो। हामीले शुरुवाती अग्रता नै जोगाउन सकेनौं,’ उनले भने, ‘अब हामीले अर्को खेलमा ध्यान केन्द्रीत गर्नेछौं।’
जर्मनीसँगको हारले पोर्चुगललाई युरोकपको नक आउट चरणमा पुग्न केही कठिन पनि भएको छ। पोर्चुगलले समूह चरणमा अब फ्रान्ससँग खेल्न बाँकी छ।

