चलचित्र ‘वीर विक्रम २’ हिन्दीमा डब, छिट्टै यूट्युबमा रिलिज हुने


काठमाडौं – निर्देशक मिलन चाम्सले पनि ‘वीर विक्रम २’ लाई भारतका सिनेमा हलमा रिलिज गर्न दुई वर्ष अगाडि मुम्बईमा फिल्मको हिन्दी डबिङ गरेका थिए । तर, कोरोना भाइरसका कारण बन्द भएका भारतका सिनेमा हल खुल्ने अनिश्चित भएपछि उनले अब भारतीय यूट्युब च्यानलबाट फिल्म रिलिज गर्ने भएका छन् । एक महिनाभित्र फिल्मको हिन्दी डब यूट्युबमा रिलिज हुने चाम्सले बताएका छन ।

उनले भने, ‘हामीले सिनेमा हलमा नै प्रदर्शन गर्ने गरी फिल्मको हिन्दी डबिङ गरेका थियौं । तर, कोरोनाले भारतका सिनेमा हल अनिश्चितकालका लागि बन्द भएका छन् । अब यूट्युबमै फिल्म रिलिज गर्दैछौं । फिल्मको हिन्दी डब निकै राम्रो भएको छ ।’ उनले आफ्नो फेसबुकमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता पल शाहबीचको संवाद हिन्दीमा स्वरांकन भएको दृश्य शेयर गरेका छन् ।

साउथ फिल्मको हिन्दी डबिङ गर्ने कलाकारहरुले ‘वीर विक्रम २’ मा भ्वाइस ओभर गरेको निर्देशक चाम्सले बताए । यो फिल्म नेपालका सिनेमा हलसँगै यूट्युबमा सार्वजनिक भइसकेको छ । बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथामा फिल्म आधारित छ । नाजिर हुसेन, बुद्दि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी लगायतको पनि फिल्ममा अभिनय रहेको छ ।

प्रतिक्रिया