कोरोना जीत्नेको कथाः यस्ता छन् एआईजी हरि पालका अनुभव र सुझाव

भन्छन्– आतिन्न हुन्न, सावधानी अपनाउनैपर्छ


काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालको काँधमा उपत्यका सुरक्षाको जिम्मेवारी छ। कहिँकतै केही घटना भइहाल्यो भने संवेदनशील घटनामा आफैं पनि पुग्नुपर्छ, नभए निर्देशन दिएर भए पनि घटनालाई सुल्झाउनुपर्छ।

बेला–बेला काठमाडौं उपत्यका मातहतका युनिट प्रमुखहरुसँग मिटिङ राख्नुपर्छ। मिटिङ निर्देशनलगायत सल्लाह तथा सुझावहरु दिनुपर्छ। त्यस्तै, उद्योगी, व्यवसायी, पत्रकार, नेता तथा बुद्धिजिवीहरुसँग अन्तरक्रिया समेत गर्नुपर्ने हुन्छ।

यसरी नै एआईजी पालको दिनचार्य बितिरहेको थियो। ६ वैशाख राती अचानक उनलाई हल्का ज्वरो आयो। उक्त दिन एआईजी पाल उच्च अदालत ललितपुरमा एउटा बैठकमा सहभागी भएका थिए।

मौसम परिवर्तन हुने समय भएकाले भाइरल ज्वरो होला भनेर समान्य रुपमा लिए। भोलिपल्ट ७ गते कार्यालय नगई घरमै बसेर आराम गरे। ज्वरोसँगै उनलाई टाउको पनि दुख्न थाल्यो।

त्यसपछि उनलाई शंका लाग्यो– पछिल्लो समय भित्रिएको नयाँ प्रजातिको कोरोना भाइरसको लक्षण हुन सक्छ। भोलिप्लटै ८ गते बिहानै प्रहरी अस्पताल पुगेर स्वाब दिए। साँझ रिपोर्ट आयो– कोरोना पोजेटिभ।

संक्रमित भइसकेपछि उनको मनमा एउटै कुरा खेलिरह्यो, ‘कोरोनालाई कसरी जित्ने?’

त्यसपछि कोरोनासँग लड्न आफ्नै निवासमा ‘होम आइशोलेट’ भए। घरको सबैभन्दा माथिल्लो तल्लामा उनी बस्न थाले, परिवारका अन्य सदस्यहरु तल। परिवारका सदस्यहरुले खाना बनाएर ढोकामा ल्याएर राखिदिन्थे।

बिहानको ब्यायामलाई उनले आइसोलेसनमा पनि निरन्तरता दिए। कोठाभित्र साइकल चलाउँथे। चिकित्सकहरुसँग फोनमा परामर्श लिइरहे। ‘उहाँहरुले पनि तातो खानुपर्छ, चिसो खानुहुन्न। आइसोलेसनमा बस्दा बाहिर कसैलाई नभेट्नु भनेर परामर्श दिनुहुन्थ्यो’, उनले सुनाए।

सामाजिक सञ्जाल हेर्ने, लेखहरु पढ्ने गर्थे उनी। कहिलेकाहीँ साथीहरु भेट्न आउँथे। साथीहरु ढोकाबाट १५ फिट पर बस्थे। आइसोलेसनका १६ दिन सहजै बित्यो।

चिकित्सकै सल्लाहमा एआईजी पाल १६ दिनसम्म घरमै आराम गरेर बसिरहे। त्यसपछि २२ वैशाखमा दोस्रो पटक परीक्षणको लागि स्वाब दिए। २३ गते आएको रिपोर्टमा उनले कोरोनालाई जितेका छन्।

यसरी सावधानी अपनाउँदा अपनाउँदै पनि कसरी कोरोना लाग्यो, उनलाई नै थाहा छैन। ‘मैले धेरै सम्झिन खोजें, कसरी सर्यो भनेर तर पत्ता लगाउन सकिनँ,’ एआईजी पाल सुनाउँछन्।

‘काम परेमात्र कार्यालयबाट बाहिर निस्कन्थें, नत्र कार्यालयमै बस्थें। कार्यालयबाटै रिपोर्टिङ लिइरहन्थें, अनि निर्देशन दिइरहन्थें,’ उनले भने, ‘संक्रमित हुँदा पनि सेटबाटै मातहतका प्रहरी कर्मचारीहरुलाई सतर्क भएर काम गर्नु भन्दै सल्लाह तथा सुझाव दिन्थे।’

कोरोना संक्रमण भयो भनेर आत्तिहाल्नुपर्ने अवस्था नरहेको एआईजी पाल बताउँछन्। ‘जो कोहीलाई कोरोना भयो भनेर नआत्तिनु भन्छु म,’ एआईजी पालले भने, ‘सँगसँगै सावधानी पनि अपनाउनुपर्छ।’

संक्रमित भएपछि चिकित्सककै सल्लाहमा औषधी सेवनसँगै सुप, तातोपानी, तातोजन्य पदार्थमा बढी जोड दिए उनले। ‘तरपनि संक्रमित भएको एक हप्तासम्म सामान्य ज्वरो आउने र टाउको दुख्ने भइरह्यो,’ उनले सुनाए,‘अहिले महामारी भनेर सबै आत्तिने गर्छन्। तर आत्मबल बलियो भयो भने इम्युनिटी पनि बलियो हुन्छ। मैले त्यो बुझेका कारण आत्तिइँन।’

‘एक हप्तासम्म लक्षण देखिए पनि आफू ठिक हुन्छ भन्नेमा विश्वस्त थिएँ। मनलाई दह्रो बनाएको थिएँ,’ उनले भने, ‘घरमा अक्सिजन स्ट्यान्डबाई थियो। तर एकपटक पनि लगाउन परेन। त्यसैले मनलाई दह्रो बनाउनपर्छ।’

घरमा बस्दा पनि कोरोना संक्रमणबाट मुक्त हुन सावधानी अपनाइरहेको एआईजी पालले बताए। ‘परिवारका सदस्यहरुसँग सामाजिक दूरी कायम गर्थें। साबुन पानीले हात धुन्थें, स्यानिटाइजर प्रयोग गरिरहन्थें। शरीरलाई चाहिने भिटामिन पाइने खानेकुराहरु खाइरहन्थे,’ उनले भने।

आफ्नो कामभन्दा बाहेक घरबाट बाहिर ननिस्कन समेत उनले सबैलाई अनुरोध गरेका छन्। संक्रमित भइहालेको अवस्थामा ‘होम आइशोलेट’ हुँदा राम्रो हुने उनको बुझाइ छ।

‘यदि घरमा छुट्टै ठाउँ छ भने संक्रमित व्यक्ति अस्पतालमा बस्नुभन्दा घरमै बस्दा राम्रो हुन्छ,’ उनले अनुभव सुनाए,‘घरमै बसेर आइशोलेट गर्दा धेरै कुराहरुमा सहज हुँदोरहेछ।’

आफैं संक्रमित भएर कोरोनालाई जितेपछि अब उनी काममा फर्किनेछन्। ‘अब नियमित ड्युटीमा फर्किन्छु,’ उनले भने, ‘कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएको छ।’

उनले उच्चस्तरको उपचार सेवा प्रदान गरेको भन्दै प्रहरी अस्पताल परिवार र परिवारका सम्पूर्ण सदस्यहरु र शुभचिन्तकलाई धन्यवाद समेत दिए। उनले महामारीबाट सकेसम्म आफू पनि जोगिन र अरुलाई पनि जोगाउन आग्रह गरेका छन्।

००००

नयाँ भेरियन्टको कोरोना भाइरसको महामारीपछि नेपाल सरकारले दोस्रो लहरमा नयाँ भेरियन्टको कोरोनाभाइरस संक्रमण बढ्दै जान थालेपछि १६ वैशाखदेखि उपत्यकामा निषेधाज्ञा गरेको छ।

कोरोना संक्रमण रोकथामको लागि ‘फ्रन्टलाइन’मा खटिएको छ नेपाल प्रहरी। कोरोना संक्रमित हुनेहरु उपत्यकामा पनि दिनदिनै बढ्दै जान थालेपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले कडाई गरेको छ।

काठमाडौं उपत्यकामा मात्रै ३४ हजार बढी कोरोना संक्रमित छन्। स्वास्थ्य मन्त्रालयका अनुसार २४ वैशाखसम्म काठमाडौं उपत्यकामा ३४ हजार ६ सय २१ जना सक्रिय संक्रमितहरु रहेका छन्।

यस्तो भयावह अवस्थामा नेपाल प्रहरीका कर्मचारीहरु दिनरात भोकप्यास नभनी सडकमै खटिरहेका छन्। यसरी खटिरहँदा कोरोना लागिहाल्छ कि! धेरैलाई झैं एआईजी पाललाई पनि यो डर थियो।

मनको डरमाथि आत्मबल बलियो पार्दै आफैँलाई भन्थे, ‘मलाई कोरोना लाग्दैन।’ उनकै शब्दमा सावधानी अपनाउन कतै चुकेकै थिएनन्। मिटिङदेखि सबै भेटघाटमा सामाजिक दूरी कायम गर्थे। साबुन पानीले हात धुन्थे, स्यानिटाइजर प्रयोग गरिरहन्थें।

व्यायाम र स्वस्थ्य खानपानलाई ध्यान दिनुपर्ने उनको बुझाई छ। सामान्य भन्दा अलिक अवस्था विग्रन थालेको खण्डमा चिकित्सकसँग सल्लाह लिनु नै उचित हुने उनी सुझाव दिन्छन्।

नेपाल प्रहरीका कतिपय अधिकारी, जवान र कर्मचारी फ्रन्टलाइनमा खटिरहेका छन् तिनलाई पनि सतर्कताका साथ सेवामा सक्रिय हुन उनको सुझाव छ। ‘नागरिकले पनि यो विषयलाई गहनताका साथ बुझिदिए राम्रो हुन्छ। रोग सबैलाई लाग्न सक्छ त्यसैले अहिले कोरोना संक्रमण हुन दिनु भन्दा त्यसलाई संक्रमण हुने अवसर नै नदिनु उचित हुन्छ।’

प्रतिक्रिया