उज्यालो नेटवर्कका सम्पादक र महाप्रबन्धकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको उज्यालो नेटवर्क अनलाइनका सम्पादकलाई थुनामुक्त गर्न आदेश भएको छ।

शुक्रबार सर्वोच्च अदालतले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल भन्ने प्रभात लामालाई थुनामुक्त गर्न आदेश दिएको हो।

न्यायाधीश ईश्वर खतिवडा र आनन्द मोहन भट्टराईको सयुक्तको इजलासले उनीहरूलाई तारेखमा राखेर पनि अनुसन्धान गर्न गर्न सकिने अवस्थामा प्रहरीले गरेको पक्राउ अनुचित र गैरकानुनी भएको भन्दै थुनामुक्त गर्न आदेश गरेको हो।

उनीहरुको हकमा ललितपुर पत्रकार महासंघ शाखाका सचिव रामहरी कार्कीले हालेको बन्दी प्रत्येक्षीकरण रिट दिएको थियो। प्रहरीले १२ वैशाखमा तामाङ र लामालाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको थियो।

प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेर पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो।

प्रतिक्रिया