कोभिड नियन्त्रणमा काँग्रेसको अग्रसरता: ३ जिल्लाका पार्टी कार्यालय कोभिड अस्पतालका लागि दिने घोषणा


काठमाडौं – नेपाली कांग्रेसले कोभिड -१९ रोकथाम तथा नियन्त्रणका लागी अग्रसरता देखाएको छ । उक्त पार्टीले तीन जिल्ला पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणका लागि दिएको छ ।

नेपाली काँग्रेस नुवाकोट, सुनसरी र रुपन्देहीले आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणको लागि दिने घोषणा गरेका हुन् । जिल्ला सभापति समेत रहेका राजीव कोइरालाले इनरुवास्थित पार्टी कार्यालयको भवनलाई नगरपालिकाले आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सक्ने गरी इजाजत दिएको बताए ।

कोइरालाले विषम परिस्थितिमा जनताको स्वास्थ्यको ख्याल गर्नु प्रमुख दायित्व भएको भन्दै पार्टी कार्यालयको भवनमा आइसोलेसन सञ्चालन गर्न नगर प्रमुखलाई भनिएको बताए । यस्तै, नुवाकोटको विदुरस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा कोभिड १९ को अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई काँग्रेस जिल्ला कार्यसमिति नुवाकोटले अनुरोध गरेको छ ।

यसैगरी काँग्रेस रुपन्देहीले पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने भएको छ । भैरहवास्थित भीम अस्पतालको पछाडि काँग्रेस रुपन्देहीको २ वटा हल, ११ कोठाको दुई तले कम्पाउन्ड सहितको भवन आइसोलेसन निर्माणका लागि दिने व्यवस्था मिलाइएको काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए ।

 

प्रतिक्रिया