दिनको ६० हजारदेखि लाखसम्म असुल्छन् नीजि अस्पताल, लुटतन्त्रको प्रमाण यस्ता छन्

पहुँचमा रहेका सञ्चालकले कोभिडका नाममा जनमारा सूचना निकाल्दा राज्य किन मौन छ?


काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९)का कारण सर्वसाधारणहरु डराइरहेका छन्। कुनैपनि बेला कोरोनाले गाँजिहाल्ने हो कि भन्ने डरमा घरभित्रै पिल्सिरहेका छन्।

कोरोनाको कारण कतिको रोजगारी समेत गुमेको अवस्था छ। एकातिर कोरोनाको डर त छँदैछ, अर्कोतिर संक्रमित भएको खण्डमा उपचारको जोहो कसरी गर्ने अर्को पीडा पनि छ।

कोरोनाले आतंकित बनाइरहेको समयमा सरकारले कुनै नयाँ योजना समेत ल्याएको छैन। कोरोनाका सामान्य बिरामीहरुले अस्पतालमा बेड पाएका छैनन्। तर, भिआइपी/भिभिआइपीको लागि सजिलै बेड पाइन्छ।

सर्वसाधारण जनताहरुलाई कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने भनेर पिर पर्दा सरकार सुनेको पनि नसुनेझैं गरि बसेको छ। दावाका साथ भन्नुपर्दा नेपालमा सर्वसाधारणहरुको लागि सशुल्क अस्पताल नै छैन्।

कोरोना संक्रमण रोकथामको लागि भन्दै सरकारले ५२ जिल्लासहित काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमितहरु समयमा उपचार नपाएर अनाहकमै ज्यान गुमाउन बाध्य छन्।

एम्बुलेन्स नपाएर घर, बाटो र कतिपय संक्रमितले ट्याक्टरमै प्राण त्याग्दै गरेको समाचारहरु सार्वजनिक भएपनि सरकार मौन छ। सरकारले सामान्य नागरिकहरुको स्वास्थ्सँग खेलबाड गरिरहेको छ।

मुस्ताङमा आर्यघाटसम्म लैजाने गाडी नपाएपछि ट्याक्टरमै कोरोना संक्रमितको शव लगिएको। तस्वीर: ओमकार नेपाली

यस्तो अवस्थामा केही नीजि अस्पतालहरुलाई भने ‘खुँदो’ परेको छ। ललितपुरमा रहेको मेडिसिटी अस्पतालदेखि नर्भिक, ग्रान्डीजस्ता अस्पतालले प्रतिदिन एउटै बेडको १ लाखभन्दा माथि बिल उठाउने गरेको स्रोत बताउँछ।

कोरोनाको उपचारमा निजी अस्पतालहरुले दैनिक ६० हजारभन्दा माथि र ह्याम्स, मेडिसिटी, केएमसी, नर्भिक, सुमेरु, बिएण्डबी र स्टार अस्पतालले १ लाखभन्दा माथि बिल उठाउने गर्छ।

के एउटा सामान्य नागरिकले त्यत्रो पैसा खर्च गरेर उपचार गर्नसक्छ? मर्ने कसैलाई रहर हुँदैन, आफ्नो परिवारको सदस्य कोही संक्रमित भएमा घरखेत बेचेर भएपनि उपचार गराउन लागिपर्छन्।

उपचार गराउँदा जीवन बाँच्छ भन्ने झिनो आशामा सरकारी अस्पताल नपाएपछि यस्तै महंगा–महंगा अस्पताल लैजान बाध्य हुन्छन्। तर, कोहीबेला परिणाम नसोचेको आइदिन्छ। त्यस्तो अवस्थामा उनीहरु घर न घाटको हुन्छन्।

कोरोनाको कारण सरकारी अस्पतालहरु पुरै भरिएको छ। उपचार गर्ने सस्तो ठाउँ सरकारी अस्पतालको विकल्पमा उनीहरु बाध्य भएर नीजि अस्पताल जान्छन्। त्यहि पनि चर्को मूल्यमा उपचार गरेर घरबारी बुझाएर फर्किन्छन्।

लाखौं रुपैयाँ खर्च गर्दा समेत कोहीबेला कोरोनाको कारण आफन्तलाई बचाउन सकिन्न। आफन्तको शोकमा डुबेको परिवारको पीडा त छँदैछ, अर्कोतिर उपचार गर्दा लागेको ऋणले घरबारी समेत साहुले खाइदिन्छ।

ह्याम्समा एउटै बेडको ५० हजार!

राजधानीको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले कोरोना महामारीका बिरामीलाई राखेको ५० हजारसम्म लिने गरेको पाइएको छ।

चर्को असुली गर्दै आएको ह्याम्स अस्पतालले बिरामीका आफन्तलाई ७ हजारदेखि ५० हजार रुपैयाँसम्मका रुमको शुल्क प्रस्तावको मञ्जुरीनामामा हस्ताक्षर गर्न लगाउने गरेको पाइएको हो।

यो अस्पतालले एउटै रुममा ५० हजार रुपैयाँसम्म असुल्ने गरेको सुचना सार्वजनिक भएको छ। अस्पतालले सार्जजनिक गरेको सुचनाअनुसार सामान्य वार्डमा बस्ने कोरोनाका बिरामीले प्रतिदिन एउटै बेडको ७ हजार रुपैयाँ बुझाउँदै आएका छन्।

आइसियुको शुल्क स्विट रुमको एकैदिन ५० हजार रुपैयाँ रहेको सूचनामा उल्लेख छ। त्यस्तै आइसियुको बेडमा एकैदिन बसेको २२ हजार रुपैयाँ लिने गरेको छ।

ह्याम्स अस्पताल व्यापारीहरु सुहृदराज घिमिरे, आरएस भण्डारीलगायतको समुहद्वारा सञ्चालित अस्पताल हो। बिरामीले उपचार खर्चको लागि लाग्ने रकमका विषयमा कुनै पनि निकायमा उजुरी गर्न नपाउने शर्तमा मात्रै ह्याम्सले बिरामी भर्ना लिने गर्छ।

सुपर डिलक्स रुम भन्दै ३० हजारसम्म

त्यस्तै राजधानीको सिनामंगलमा रहेको केएमसी अस्पताल अर्थात काठमाडौं मेडिकल कलेजले पनि चर्को शुल्क असुली गर्ने गरेको पाइएको छ। कलेजले कोभिड पोजेटिभ बिरामीहरुलाई उपचारका लागि क्याबिनको व्यवस्था गरेको छ। तर, शुल्क भने अस्वभाविक रहेको पाइएको छ।

शुल्कसम्बन्धी सुचनाअनुसार कोभिडका बिरामीलाई सिंगल बेड भएको क्याबिनमा राख्दा प्रतिदिन २० हजार रुपैयाँ शुल्क लाग्नेछ। त्यस्तै दुईवटा बेड भएको क्याबिनमा राख्दा प्रतिव्यक्ति हरेक दिन १० हजार रुपैयाँ शुल्क लाग्ने अस्पतालले जनाएको छ।

त्यसैगरी डिलक्सका रुपमा तयार पारिएको कोभिड क्याबिनमा बसेर उपचार गर्नेका लागि प्रतिदिन २५ हजार रुपैयाँ शुल्क तोकिएको छ। कलेजमा सुपर डिलक्स रुम पनि तयार गरिएको छ। जसको प्रतिदिन शुल्क ३० हजार रुपैयाँ छ।

अकुत सम्पत्ति आर्जनको मुद्दामा मुछिएका नेपाली कांग्रेसका नेता सुनिल शर्मालगायत व्यक्तिद्वारा सञ्चालित यो अस्पतालले कोरोना महामारीको मौकामा ‘लुटतन्त्र’ मच्चाएको आरोप छ।

०००००

यस्तै भैंसेपाटीस्थित मेडिसिटी अस्पतालले कोरोना संक्रमितको बस्ने सिङ्गल आइसोलेसन रुमको दैनिक १२ हजार ५०० शुल्क तोकेको छ । ट्वीन्स सेयरिङ रुमको ६०००, आईसीयू बेडको २० हजार र भेन्टिलेटरको २५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै ग्रान्डी अस्पतालले सुविधा अनुसार प्रतिदिन ७ हजारदेखि लिएर २६ हजार ५०० रुपैयाँसम्म लिने गरेको छ। भेन्टिलेटरमा राखेर उपचार गरेको २६ हजार ५०० पर्नेछ।

आइसियूमा राखेर उपचार गरेको १७ हजार ५०० रुपैयाँ, सिंगल बेडको १४ हजार रुपैयाँ, डबलको ११ हजार ५०० रुपैयाँ र जनरल वार्डको प्रतिदिन ७ हजार रुपैयाँ ग्रान्डी अस्पतालले तोकेको छ।

००००

यसरी सामान्य नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने सरकारले नीजि अस्पतालहरुलाई तत्कालै कारबाहीको दायरामा किन ल्याउँदैन? आफ्नो सत्ता जोगाउनकै लागि मात्र देशको बागडोर सम्हालिरहेको हो कि सर्वसाधारणको समस्या पनि बुझ्ने हो केपी शर्मा ओली?

यस विषयमा दुवै अस्पतालमा सम्पर्क गर्दा कोही पनि बोल्न चाहेनन्। यसरी निजी अस्पतालहरुले ब्रम्हलुट मच्चाइरहँदा सरकारले किन छानबिन गर्न सक्दैन? कतै सरकारसमेत मिलेको छैनरु गम्भीर प्रश्न उब्जिएको छ।

स्पष्टिकरण सोधेका छौंः काठमाडौं सिडिओ

कोरोना संक्रमितहरुको उपचारका लागि सरकारले दैनिक शुल्क सामान्यका लागि ३५०० रुपैयाँ, मध्यमको ७००० र गम्भीर उपचारका लागि दैनिक १५ हजार रुपैयाँ तोकेको छ। त्यसअनुसार सेवा सम्झौता गर्न निजी अस्पतालहरुलाई प्रस्ताव पनि गरेको छ।

तर उपत्यकामा भएका ठूला अस्पतालहरु सरकारले तोकेको शुल्कमा उपचार गर्न तयार छैनन्। केही अस्पतालले सरकारबाट अहिलेसम्म औपचारिक जानकारी नै नआएको तर्क गरेका छन्।

तर, सरकारले तोकेकोभन्दा बढी शुल्क लिने केएमसी र ह्याम्स अस्पताललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्पष्टीकरण सोधेको जनाएको छ। नियम विपरीत बढी शुल्क लिएको पाए कारबाही गर्ने बताइएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना संक्रमितको उपचारका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको जानकारी आएकाले स्पष्टीकरण सोधिएको बताए।

प्रतिक्रिया