नक्कली डाक्टरको सीआइबीले खोलेको सक्कली कथा, पल्लवीको छ अर्कै


काठमाडौं – समाजले सर्वाधिक सम्मान गर्ने पेशा हो, चिकित्सा क्षेत्र। चिकित्सा पेशाप्रति समर्पित चिकित्सकले स्वस्थ समाज निर्माणमा अतुलनीय योगदान पुर्याइरहेका हुन्छन्। तिनलाई बिरामीले भगवान्तुल्य मान्छन्। यही पेशामा कतिपय चिकित्सक नाफाखोर व्यापारीका कोटीको सूचीमा समेत छन् तर तिनलाई समाजले सम्मान गर्दैन।

पछिल्लो समय उल्लिखित वर्गबाहेकका चिकित्सक पनि देखापर्न थालेका छन्, जस्तो नक्कली प्रमाणपत्रधारी। प्रहरीले नाम चलेको ग्रान्डी अस्पतालदेखि जिल्ला अस्पतालमा कार्यरत नक्कली डाक्टरलाई पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको उदाहरण हामीसामू छर्लंगै भएको कुरा हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले प्राय नक्कली डाक्टरमथि अनुसन्धान गर्ने गर्छ। तत्कालिन सीआइबीका निर्देशक नवराज सिलवालको पालादेखि प्रहरीले नक्कली डाक्टरहरुलाई पक्राउ गरेर सार्वजनिक गर्न थालेको हो। जतिबेला सिलवालको कार्यकालमा एक दर्जनभन्दा बढी नक्कली डाक्टरहरु पक्राउ परेका थिए।

सोही घटनामा सीआइबीले फेरि सफलता हाँसिल गरेको छ। ५ वैशाखमा देशका विभिन्न अस्पतालमा कार्यरत ७ जना नक्कली डाक्टरहरुलाई सिआइबीले पक्रन सफल भएको छ। ७ जना नक्कली प्रमाणपत्रधारी डाक्टर र एक जना कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरेको सीआइबीका निर्देशक सहकुल थापा बताउँछन्।

सीआइबीले जिल्ला अस्पताल, रुकुममा कार्यरत डाक्टर दपेन्द्र गौतमलाई समेत पक्राउ गरेको छ। उनले एसएलसीको नक्कली प्रमाणपत्रका आधारमा डाक्टरी पढेको ब्यूरोको आरोप छ। साथै, उनले छाप तथा दस्तखत पनि किर्ते प्रयोग गर्दै आएको प्रहरीको भनाइ छ।

गौतमसँगै सप्तरी विष्णुपुर–२ घर भई हाल मोरङ विराटनगर महानगरपालिका–५ सम्झनाचोक बस्ने २८ वर्षीय मोहमद सिद्दिक, सप्तरी मकरपुरा–९ घर भई हाल मोरङ बरगाछी बस्ने ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरी मनरा–५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका– २ आदर्शवस्ती बस्ने २७ वर्षीया पल्लवी सिंह, ललितपुर महानगरपालिका– २ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ पक्राउ परेका हुन्।

यस्तै, महोत्तरी सरपल्लो– ६ घर भई हाल जनकपुर उपमहानगरपालिका– ७, जिरोमाइल बस्ने २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सवैला नगरपालिका– ५ घर भई हाल ललितपुर महानगरापालिका– २ महालक्ष्मीस्थान बस्ने २८ वर्षीय मोहम्मद शाहिद राजा र मनाङ साविक चामे गाविस – ५ का दिपेन्द्र गौतम पक्राउ परेका हुन्।

गौतमसँगै २८ वर्षीय मोहमद सिद्दिक न्यूरो अस्पताल विराटनगर, २९ वर्षीय सुभाषप्रसाद साह जनकपुर चिल्ड्रेन अस्पताल, २८ वर्षीय मोहम्मद शाहिद राजा दीर्घायु गुरु अस्पताल चाबहिल, ३१ वर्षीय दिपेन्द्र गौतम रुकुमको चौरझारी अस्पतालमा कार्यरत रहेको निर्देशक थापाले बताए। पक्राउ परेका अरु कहाँ कार्यरत थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ।

पल्लवीबाहेक ६ जना बंगलादेशबाट एमबिबिएस पढेर आएका हुन्। उनीहरूले त्यहाँको कुन विश्वविद्यालयबाट एमबिबिएस पढेका हुन् भन्ने पनि खुल्ने क्रममै रहेको निर्देशक थापाको दाबी छ। ‘अहिलेलाई हामीले उनीहरूले किर्ते गरेर बनाएको नक्कली एसएलसी सर्टिफिकेट मात्रै पहिचान गरिसकेका छौं,’ थापाले भने।

बंगलादेशमा एमबिबिएस अध्ययनका लागि निश्चित जिपिए तोकिएको हुन्छ। एसएलसीको बंगलादेशमा शैक्षिक प्रमाणपत्रको अंक र प्लस टुको शैक्षिक प्रमाणपत्रको अंक जोडेर जिपिए निकालिन्छ। यी दुवैको अंक जोडेर ७ जिपिए आयो भने निजी कलेजमा पढ्न योग्य हुन्छ। ८ आयो भने सरकारी क्याम्पसमा पढ्न योग्य हुन्छ।

हाल पक्राउ परेकाहरुको एसएलसीको वास्तविक प्रमाणपत्रका आधारमा दुवै जिपिए नपुग्ने भएपछि उनीहरुले एसएलसीको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अनुसन्धानमा खुलेको छ। पक्राउ परेकासँग एलएलसीको त्यो जिपिए थिएन र जिपिए पु‍र्याउन किर्ते गरे भन्ने दाबी ब्यूरोको छ।

पक्राउ परेका उनीहरुले बंगलादेशमा एमएमबिबिएस अध्ययन गर्नका लागि नै एलएलसीको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकामध्ये ६ जनाले बंगलादेशबाटै एमएबिबिएस अध्ययन पुरा गरेका छन्।

बागबजारमा ज्योतिदिप इन्टरनेश्नल कन्सल्टेन्सी सञ्चालन गर्दै आएका जनकपुरका अरुण चौधरीलाई समेत सीआइबीले पक्राउ गरेको छ। ७ जना डाक्टर पक्राउ परेपछि चौधरीलाई सिआइबीले पक्रेको हो।

पक्राउ परेका डाक्टरहरुले नक्कली सर्टिफिकेट उनै चौधरीले बनाइदिएको भनेर बयान दिएपछि उनलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन्। हाल पक्राउ परेका ४ जनाको नक्कली शैक्षिक प्रमाणपत्र उनै चौधरीले बनाएका थिए।

निश्चित रकम लिएर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको चौधरीले प्रहरीसमक्ष स्वीकार गरेका छन्। सीआइबीले सोमबार महाराजगञ्जस्थित कार्यालय उनीहरुलाई सार्वजनिक गरेको हो।

चिकित्सा शिक्षा अन्यभन्दा गम्भीर विषय हो। यो विषय अध्ययन गर्न चाहने विद्यार्थीले एक प्रकारको तपस्या नै गर्नुपर्छ। तपस्यामा सफल हुन सजिलो छैन, कडा मेहनत र लगनले मात्र दक्ष डाक्टर बन्न सकिन्छ। किनकि, यसमा मान्छेको जीवन जोडिएको हुन्छ।

दक्ष चिकित्सकको हातमा परेका बिरामी रोगमुक्त भएर आफ्नो नियमित काममा लाग्न सक्छन् भने खराब तथा नक्कली चिकित्सकले मृत्युको मुखमा पु¥याइदिने खतरा रहन्छ। नक्कली चिकित्सकका कारण बिरामीमा पर्न गएको असरबारे सीआइबीले निरन्तर खोजी गरिरहेको छ।

यो पनि पढ्नुहोस्…

सीआईबीद्वारा ७ नक्कली डाक्टर पक्राउ, ती मध्ये चार जना अस्पतालमा कार्यरत

सीआईबीले फेरि समात्यो नक्कली डाक्टरको गिरोह, नक्कली प्रमाणपत्रको विगविगी

प्रतिक्रिया