बीपी राजमार्ग सञ्चालनमा ल्याउन तीब्र गतिमा काम


बनेपा– पछिल्लो चार दिनदेखि जारी वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानले ठाउँ–ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा ल्याउन सडक खुलाउने काम भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने काम जारी छ। डिभिजन सडक कार्यालय भक्तपुरको टोली सोमबार बिहानैदेखि सडक सञ्चालनका लागि परिचालित भएको उनले जानकारी दिए।

मौसम अनुकूल रहेमा असोज १३ गते अपराह्नदेखि राजमार्गमा यातायात सञ्चालन गर्न सकिने सम्भावना रहेको अधिकारीले बताए।

पछिल्ला दिनमा परेको अविरल वर्षाले बिपी राजमार्गमा वर्षायाममा दोहोरिँदै आएको बाढी, पहिरो र नदी कटानको समस्या पुनः देखिएको हो। वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा सडक कटान तथा पहिरो जाँदा यातायात प्रभावित भएको छ।

यसअघि २०८१ असोज दोस्रो साता परेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढी र पहिरोले बिपी राजमार्गको काभ्रे खण्डमा ठूलो क्षति पुर्‍याएको थियो। सडकको ठूलो हिस्सा बगेपछि तत्काल यातायात सञ्चालनका लागि विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो। अहिले राजमार्ग स्थायी पुनर्निर्माणको चरणमा रहेको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भएको बिपी राजमार्गले पूर्वी तथा मध्य नेपाललाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्दै आएको छ। राजमार्गमा अवरोध हुँदा यात्रु तथा चालकसँगै सडक आसपासका बस्ती, व्यापार–व्यवसाय र दैनिक आवागमनसमेत प्रभावित हुने गरेको छ।

प्रतिक्रिया