
वैदेशिक रोजगारीको नाममा करोडौँ ठगी, सात जना पक्राउ
काठमाडौं – आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीका नाममा ठगी गरेको अभियोगमा डब्लुडब्लुआईसीएस इमिग्रेसन सर्भिस नेपालका सञ्चालक भारतका नागरिक अमित कुमार र राहुल कुमारसहित सात जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा मुस्कान घिमिरे, जनकबहादुर वाइबा, मिलन घिमिरे, कमल थापा र नितु घिमिरे पनि रहेका छन् ।
प्रहरीका अनुसार अमित र राहुलले क्यानडा पठाइदिने भन्दै चार जनाबाट १ करोड ५७ लाख ६५ हजार ४ सय रुपैयाँ असुलेका थिए । यस्तै, मुस्कानले ग्रीस, जनकले फ्रान्स, मिलनले क्रोएशिया, कमलले बेलायत र रोमानिया तथा नितुले अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
पीडितको उजुरीपछि प्रहरीले काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अमित र राहुललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने अन्य पाँच जनालाई वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
