
नागरिकको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर सुधार गर्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (ईयू) तथा सदस्य राष्ट्रका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले सुशासन, समावेशी आर्थिक समृद्धि र राजनीतिक स्थिरताप्रति सरकार स्पष्ट रूपमा प्रतिबद्ध रहेको बताएका हुन् ।
प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन र आर्थिक विकासका लागि स्पष्ट जनादेश दिएको उल्लेख गर्दै सरकार परिवर्तन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पारे ।
उनले लोकतान्त्रिक मूल्य–मान्यता संरक्षण, राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण निर्माण र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने सरकारको प्राथमिकता रहेको बताए ।
प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीति अवलम्बन गर्दै छिमेकी तथा विकास साझेदार राष्ट्रहरूसँग आपसी सम्मान र साझा समृद्धिको आधारमा सम्बन्ध अघि बढाउने धारणा राखे ।
उनले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन र पर्यटनजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल तयार रहेको पनि बताए ।
विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले शान्ति स्थापनाका लागि सैन्य टकरावभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
भेटमा सहभागी ईयू तथा अन्य देशका राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै प्रधानमन्त्री शाहलाई बधाई दिएका थिए । साथै उनीहरूले आर्थिक विकास र समृद्धिका क्षेत्रमा नेपालसँग सहकार्य र लगानी गर्न इच्छुक रहेको बताएका थिए ।



कागजपत्र |
