
टिकटक प्रेमजालमा ठगी, ४० भन्दा बढी महिला पीडित
काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनमार्फत उपहार र पार्सल पठाउने बहानामा ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इलाम फाकफोगथुम गाउँपालिका–६ घर भई हाल काठमाडौँ बस्दै आएका २७ वर्षीय सुशन थेगिम लिम्बु (सुजन लिम्बु) रहेका छन्।
प्रहरीका अनुसार उनले टिकटकमा ‘रोहन राजपुत’ नामको नक्कली प्रोफाइल बनाएर नेपाली महिलाहरूसँग साथी बन्ने र प्रेमको नाटक गर्ने गरेका थिए। त्यसपछि आफूले अमेरिकाबाट डलर र महँगा गरगहना उपहार पठाएको भन्दै पीडितलाई झुक्याउने गरेको खुलासा भएको छ।
उक्त सामान ‘डीएचएल’ मार्फत काठमाडौँ विमानस्थलमा आएको भन्दै भन्सार शुल्क र कर तिर्नुपर्ने बहानामा उनले ह्वाट्सएपमार्फत सम्पर्क गरी विभिन्न व्यक्तिबाट करिब २ लाख रुपैयाँसम्म असुल गरेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा लिम्बुले सोही शैलीमा ४० भन्दा बढी महिलालाई ठगी गर्ने प्रयास गरेको देखिएको छ।
प्रहरीले उनको साथबाट रेडमी मोबाइल एक थान र दुई थान सिमकार्ड बरामद गरेको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।



कागजपत्र |
