काठमाडौं उपत्यका आज विश्वकै प्रदूषित शहरको पहिलो स्थानमा


काठमाडौं – काठमाडौं आज विश्वकै वायु प्रदूषण शहरको पहिलो स्थानमा परेको छ।

काठमाडौं उपत्यकामा वायु गुणस्तर खस्किँदै जादा बिहीबार दोस्रो स्थानमा रहेको आज पहिलो स्थानमा परेको हो ।

स्वीट्जरल्यान्डस्थित अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था आईक्यू एयरको तथ्यांकअनुसार काठमाडौं हाल विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये पहिलो स्थानमा रहेको छ ।

एक्युआइका अनुसार बिहान ११:४५ बजे काठमाडौंको वायुको गुणस्तर मापदण्ड एक्यूआई २२३ रहेको छ ।

सूचीमा भारतको राजधानी नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ, एक्युआइका अनुसार हाल दिल्लीको एक्युआइ १६२ रहेको छ।

बिहीबार पहिलो स्थानमा रहेको पाकिस्तानको लाहोर विश्वकै प्रदुषित शहरको तेस्रो स्थानमा रहेको छ लाहोरको एक्यूआई १५८ रहेको छ।

एक्युआईका अनुसार मंगलवार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकांक आज बिहान वायु गुणस्तर सूचक एक्युआई २२३ सम्म पुगेको थियो । अहिले भने २१६ मा झरेको छ । २०१ देखि ३०० पुग्नु जनस्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ ।

वातावरण विभागका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन् ।

विभागका अनुसार दाङको देउखुरी, भक्तपुर, काठमाडौंका रत्नपार्क र शंखपार्क, साथै सुर्खेतलगायत क्षेत्रमा पनि वायुको गुणस्तर अत्यन्तै खराब देखिएको छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणका कारण मुटु, फोक्सो, रक्तनली, दम, क्यान्सर, आँखा तथा मिर्गौलासम्बन्धी समस्या बढ्न सक्ने चेतावनी दिएको छ ।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घरोगी बढी जोखिममा रहने मन्त्रालयले जनाएको छ ।

अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन मन्त्रालयले सुझाइएको छ ।

 

प्रतिक्रिया