सुरक्षा माग्दै कर्णाली प्रतिष्ठानमा आकस्मिक बाहेकका सेवा बन्द


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी, शिक्षक तथा चिकित्सकहरूले कार्यस्थलमा असुरक्षा बढेको भन्दै आकस्मिक तथा अन्तरङ्ग सेवा बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेका छन्।

प्रतिष्ठान परिसरमै प्रवेश गरेर कर्मचारी र चिकित्सकमाथि गालीगलौज, ज्यान मार्ने धम्की तथा भौतिक आक्रमणको प्रयास भएको आरोपपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

उपकुलपतिलाई सम्बोधन गर्दै बुझाइएको निवेदनअनुसार वैशाख ९ गते बिहान करिब ९:४५ बजे आफूलाई सामाजिक अभियन्ता बताउने केही व्यक्तिहरू विभिन्न विभागमा पुगेर कर्मचारीहरूलाई गालीगलौज र धम्की दिएका थिए। सो क्रममा शैक्षिक भवनस्थित चमेना गृहमा प्रवेश गरी त्यहाँ रहेका कर्मचारीहरूमाथि अभद्र व्यवहार गर्दै ज्यान मार्ने धम्की दिइएको उल्लेख गरिएको छ।

घटना त्यतिमै सीमित नरहेको जनाउँदै निवेदनमा सोही दिन दिउँसो करिब ३:५० बजे ती व्यक्तिहरू पुनः मदिरा तथा लागुपदार्थ सेवन गरी हातहतियारसहित प्रतिष्ठानमा प्रवेश गरेर सांघातिक आक्रमणको प्रयास गरेको आरोप लगाइएको छ।

आन्दोलित पक्षले घटनामा संलग्न व्यक्तिहरूबाट लिखित वा मौखिक रूपमा माफी माग्नुपर्ने, सम्पूर्ण कर्मचारी तथा चिकित्सकको सुरक्षाको जिम्मेवारी प्रशासनले लिनुपर्ने र दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग अघि सारेका छन्।

माग पूरा नभएसम्म आकस्मिक र अन्तरङ्ग सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने उनीहरूले चेतावनी दिएका छन्।

kash2-1776936401.jpg

प्रतिक्रिया