काठमाडौं उपत्यकामा १० लागूऔषध कारोबारी पक्राउ


काठमाडौं – काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको विशेष अपरेशनमा ३ दिनमै १० जना लागूऔषध कारोबारी पक्राउ परेका छन्। चैत २७ देखि २९ गतेसम्म सञ्चालन गरिएको अभियानमा खैरो हेरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चारवटा फरक–फरक अपरेशनमार्फत ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको हो।

पहिलो अपरेशनमा ३१ ग्राम ८०० मिलिग्राम खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाका २४ वर्षीय सुरज दाहाल, रामेछापका २६ वर्षीय ईश्वर खत्री र काठमाडौंका ४५ वर्षीय अलविन प्रधान रहेका छन्।

दोस्रो अपरेशनमा ९८ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाका ३६ वर्षीय सुकमान तामाङ, काभ्रेपलाञ्चोकका २९ वर्षीय पवन लामा, कास्कीका ४८ वर्षीय रोहितबहादुर राना र पर्साका ३५ वर्षीय विशाल विक रहेका छन्।

तेस्रो अपरेशनमा १० ग्राम खैरो हेरोइन र ५२ ग्राम अफिमसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरका ३७ वर्षीय चेतबहादुर राउत र गोरखाका २८ वर्षीय अजय परियार रहेका छन्।

चौथो अपरेशनमा ८४ ग्राम खैरो हेरोइनसहित रौतहटका ४३ वर्षीय सुवोधकुमार सिंह पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका सुकमान तामाङ, पवन लामा, चेतबहादुर राउत, सुवोधकुमार सिंह र अजय परियार यसअघि पनि लागूऔषध मुद्दामा कैद भुक्तान गरी छुटेका व्यक्ति हुन्। पुनः लागूऔषध कारोबारमा संलग्न रहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेका सबैमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया