
इरानी राष्ट्रपतिद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई
तेहरान – इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्।
गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका शाहलाई सोमबार पठाएको सन्देशमा राष्ट्रपति पेजेश्कियानले नेपाल–इरानबीचको सम्बन्ध विस्तार गर्न आफ्नो देश तयार रहेको बताएका छन्।
सन्देशमा उनले विगत ६ दशकदेखि कायम रहेको दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई उच्च मूल्यांकन गर्दै यो सम्बन्ध आपसी सम्मान र साझा हितमा आधारित रहेको उल्लेख गरेका छन्।
राष्ट्रपति पेजेश्कियानले आर्थिक, व्यापार, ऊर्जा, पर्यटन, कृषि तथा शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्न इरान इच्छुक रहेको पनि जनाएका छन्।
उनले प्रधानमन्त्री शाहको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै नेपालका जनताको प्रगति र समृद्धिको कामना गरेका छन्। साथै, शाहको राजनीतिक तथा कार्यकारी अनुभवले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
उक्त शुभकामना सन्देश इरानको सरकारी समाचार संस्था आईआरएनएले सार्वजनिक गरेको हो। चैत १३ गते गठन भएको नयाँ सरकारप्रति विभिन्न देशका नेताहरूले बधाई दिइरहेका बेला इरानका राष्ट्रपति पनि त्यसमा जोडिएका छन्।
यस सन्देशले नेपाल–इरान सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ। साथै, हाल क्षेत्रीय तनाव र युद्धविरामको अवस्थाबीच इरानले शुभकामना पठाएको सन्दर्भलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।



कागजपत्र |
