‘बले’ विरुद्ध अमेरिकामा बलात्कार मुद्दा


काठमाडौं- कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कारको आरोपमा मुद्दा दायर भएको छ। अमेरिकामा अध्ययनरत छात्रा संगम बिष्टले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाइपीडी)मा दुई दिनअघि एफआइआर दर्ता गराएको पारिवारिक स्रोतले जनाएको छ।

उक्त उजुरीपछि अमेरिकी प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।  संगम बिष्टले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र लम्सालबीच एक वर्षअघि अमेरिकामा भेट भएको उल्लेख गर्दै उनलाई फ्ल्याट देखाउन लगेको बताएकी थिइन्। आफूले दाइजस्तो मानेको व्यक्तिले फ्ल्याटमै जबरजस्ती करणी गरेको उनको आरोप छ।

सामाजिक सञ्जालमा उक्त आरोप सार्वजनिक भएको भोलिपल्ट नेपाल प्रहरीले सागर लम्साललाई नियन्त्रणमा लिएको थियो। तर, नेपालमा भने उनीविरुद्ध बलात्कार सम्बन्धी औपचारिक जाहेरी दर्ता भएको छैन।

जाहेरी नपरेकाले जिल्ला प्रशासन कार्यालयमार्फत अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। प्रचलित कानुनी व्यवस्थाअनुसार अभद्र व्यवहार मुद्दामा अधिकतम २५ दिनसम्म हिरासतमा राख्न सकिने प्रावधान रहेको छ।

संगम बिष्टको परिवारले कानुनी प्रक्रियाबारे वकिलहरूसँग परामर्श गरिरहेको र नेपालमा पनि जाहेरी दिने वा नदिनेबारे अझै निर्णय भइनसकेको जनाएको छ।

प्रतिक्रिया