
सरकारी निर्णयको अवज्ञा, आठराई त्रिवेणी गाउँपालिकामा शनिबार मात्र सार्वजनिक बिदा
काठमाडौं – पेट्रोलियम पदार्थको अभाव र बढ्दो मूल्यवृद्धिलाई कारण देखाउँदै सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन नहुँदै एक स्थानीय सरकारले भने सो निर्णयको अवज्ञा गरेको छ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले संघीय सरकारको दुई दिने बिदा व्यवस्थाको सट्टा सातामा एक दिन मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) का अनुसार गाउँपालिकामा शनिबार मात्र सार्वजनिक बिदा हुनेछ भने आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा कार्यालय सञ्चालन हुने छ।
सरकारी कार्यालयहरू बिदाका कारण सेवाग्राहीलाई समस्या हुने गरेको भन्दै त्यसलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको अध्यक्ष पोमूले बताएका छन्। उनका अनुसार कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यथावत रहने छ।
त्यसैगरी, अत्यावश्यक कामका लागि बिदाको दिनमा पनि कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएमा कर्मचारीलाई अतिरिक्त प्रोत्साहन (इन्सेन्टिभ) प्रदान गरी सेवा निरन्तरता दिने व्यवस्था गरिएको छ। यसले सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



कागजपत्र |
