रूपन्देहीको सिएमजी क्यासिनोमा प्रहरीको छापा, ६ नेपाली पक्राउ


रुपन्देही – तिलोत्तमा नगरपालिका वडा नं ६ मणिग्रामस्थित सञ्चालनमा रहेको सिएमजी क्यासिनोमा प्रहरीले बुधबार राति छापा मारेर ६ जना पक्राउ गरेको छ ।

नेपाली युवाको ठूलो संख्या क्यासिनोमा प्रवेश गरी जुवा खेल्ने क्रम बढ्दै गएको सूचनाका आधारमा प्रहरीले आकस्मिक छापा कारबाही गरेको हो ।

छापा मार्ने क्रममा क्यासिनोभित्र जुवा खेलिरहेका ६ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरूको थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ ।

पक्राउ पर्नेमा जुवा खेलाउने कार्यमा संलग्न सर्लाही बरहथवा नगरपालिका–८ निवासी ३१ वर्षीय मुकेश कुमार श्रेष्ठ र ललितपुर गोदावरी नगरपालिका–१५ निवासी ४१ वर्षीय अजय के.सी रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण कुमार चन्दले बताए ।

यस्तै जुवा खेल्ने कार्यमा संलग्न बुटवल उपमहानगरपालिका–१२ निवासी ३५ वर्षीय गोविन्द शर्मा, वडा नम्बर ९ निवासी ३५ वर्षीय वासुदेव गौतम, सोही स्थानका ३५ वर्षीय कृष्ण गौतम तथा वडा नम्बर ११ निवासी ३६ वर्षीय चन्द्र प्रसाद श्रेष्ठ पक्राउ परेका चन्दले जानकारी दिए ।

नेपालको विद्यमान कानूनी व्यवस्थाअनुसार क्यासिनोमा विदेशी नागरिकलाई मात्र प्रवेश र जुवा खेल्न अनुमति भए पनि पछिल्लो समय नेपालीहरूको संलग्नता बढ्दै गएको पाइएको छ ।

यसैलाई नियन्त्रण गर्न प्रहरीले निगरानी कडा बनाउँदै आएको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया