
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा दायर
काठमाडौं- तनहुँको देवघाट गाउँपालिकामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी होमबहादुर भारतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बिहीबार विशेष अदालत काठमाडौँमा दायर गरेको आरोपपत्र अनुसार, भारतीले देवघाट गाउँपालिकामा सामाजिक परिचालक, सरसफाइ सुपरिवेक्षक र उत्प्रेरक संयोजकको पदमा बहाल रहँदै गैरकानुनी लाभ र सुविधा प्राप्त गर्न झुटा प्रमाणपत्र प्रस्तुत गरेका थिए।
अनुसन्धानबाट उनले सन् १९९९ (२०५५ साल) मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको दाबी गर्दै ‘सि.नं.0252431M’ नम्बरको नक्कली प्रमाणपत्र पेस गरेकाे खुलेको छ। सोही प्रमाणपत्रको आधारमा उनले सरकारी सेवकको हैसियत र सुविधा प्राप्त गरेको पुष्टि अख्तियारको छ।
अख्तियार प्रवक्ता सुरेश न्यौपानेका अनुसार, भारतीको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार अपराध ठहरिनेछ। आयोगले उनलाई कैद र जरिवाना सजायको माग गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ।
सरकारी सेवामा झुट्टा विवरण पेश गरी लाभ लिनु जघन्य अपराध भएकाले उनलाई कडा कारबाहीको माग गरिएको छ।



कागजपत्र |
