
मानव तस्करको फन्दामा परेका १६ नेपालीकाे कम्बोडियाबाट उद्धार
काठमाडौं- मानव तस्करको प्रलोभनमा परेका १६ जना नेपाली कम्बोडियामा अवैध स्क्यामिङ केन्द्र र क्यासिनोहरूमा गैरकानुनी काम गरिरहेका अवस्थामा उद्धार गरेर नेपाल फर्काइएको छ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघको सहकार्यमा बिहीबार उनीहरूलाई स्वदेश पठाइएको जनाएको छ। दूतावासका अनुसार अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई पनि नेपाल फर्काउने प्रयास जारी छ।
विज्ञप्तिमा भनिएको छ, “मानव तस्करको प्रलोभनमा परेका यी नेपालीहरू अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगी तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न थिए। कम्बोडियाको सरकार र गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू आज फाल्गुन २८ मा नेपाल फर्काइएका हुन्।”
कम्बोडियामा नेपाली नागरिकहरूले बिना भिषा वा भिषा अवधि सकिएपछि पनि बसिरहेको, साथै अनलाइन ठगीमा संलग्न रहेको दूतावासले जनाएको छ। आवश्यक परेमा नेपाल फर्किन चाहने अन्य नेपालीहरू बैंककस्थित दूतावास वा गैर-आवासीय नेपाली संघ, कम्बोडियाका प्रतिनिधिसँग सम्पर्क गर्न सक्ने जानकारी पनि दिइएको छ।



कागजपत्र |
