
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान गर्न सीआईबीको टोली सुर्खेतमा
सुर्खेत- बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक प्रकरणको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ। सुर्खेत प्रहरीले घटनाको गम्भीरता मध्यनजर गर्दै सीआईबीसँग सहयोग मागेपछि ब्यूरोको विज्ञ टोली सुर्खेत आइपुगेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोनजंग बुढथापाका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा रहेको सीआईबीको टोली शुक्रबारसम्म वीरेन्द्रनगर पुग्ने छ। “घटनाको थप अनुसन्धानका लागि हामीले सीआईबीसँग सहयोग मागेका थियौं, अब टोलीले थप अनुसन्धान अघि बढाउनेछ,” उनले भने।
प्रहरीका अनुसार घटनासम्बन्धी पहिलो चरणको अनुसन्धान भने जिल्ला प्रहरी कार्यालयबाटै पूरा भइसकेको छ। घटनाको संवेदनशीलता र गम्भीरतालाई ध्यानमा राख्दै केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोग लिइएको डीएसपी बुढथापाले बताए।
हालसम्म घटनासम्बन्धी पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको छ। यद्यपि पीडित र आरोपित पक्षका मोबाइल फोन तथा अन्य विद्युतीय सामग्री फरेन्सिक परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार घटनासँग सम्बन्धित नमुना केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल तथा बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको छ। “ती रिपोर्टहरू आएपछि पोस्टमार्टम प्रतिवेदनसँग तुलना गरेर घटनाको अन्तिम निष्कर्षमा पुग्नेछौं,” उनले बताए।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयले छुट्टै अनुसन्धान टोली गठन गरेर काम गरिरहेको छ भने कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट आएको टोलीले पोलिग्राफ परीक्षणमार्फत अनुसन्धानमा सहयोग गरिरहेको छ।
पोलिग्राफ परीक्षणबाट व्यक्तिले बोलेको सत्य–झुटो पत्ता लगाउन सहयोग पुग्ने बताइएको छ। साथै कल डिटेल्स, विद्युतीय प्रमाण तथा अन्य तथ्यहरू पनि प्रहरीले अनुसन्धानको दायरामा राखेको छ।
प्रहरीका अनुसार हालसम्म पीडित परिवारले बालिकाको शव बुझेका छैनन्। पीडित परिवारको जाहेरीका आधारमा भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेत पुगेर शव परीक्षण गरेको थियो।
शव परीक्षण प्रतिवेदनअनुसार जबरजस्ती करणीका क्रममा पीडितको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ।
गुर्भाकोट–६ बडाखोली स्थायी घर भएकी इनिसा विकको शव फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा फेला परेको थियो। परिवारका सदस्यहरूले सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाउँदै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका सबै १८ वर्षमुनिका किशोर रहेको प्रहरीले जनाएको छ। प्रहरीले फागुन २३ गते नै एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो भने थप अनुसन्धानका क्रममा फागुन २४ गते अन्य तीन जनालाई पक्राउ गरिएको बताइएको छ।



कागजपत्र |
