टी–२० विश्वकप २०२६: नेपाललाई ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार


काठमाडौं – भारत र श्रीलंकामा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टी–२० विश्वकप २०२६ मा सहभागी नेपालले करिब २ लाख ५६ हजार १ सय ५४ अमेरिकी डलर (झण्डै ३ करोड ७७ लाख ५७ हजार रुपैयाँ) पुरस्कार प्राप्त गरेको छ।

आईसीसीले बुधबार प्रतियोगितामा सहभागी सबै टोलीलाई प्रदान गरिने पुरस्कार रकम सार्वजनिक गर्दा नेपालले उक्त रकम पाउने भएको हो। नेपालले तेस्रो पटक टी–२० विश्वकपमा सहभागिता जनाएको थियो।

लगातार दोस्रो पटक विश्वकप खेलेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो। पहिलो खेलमा दुई पटकको विश्वकप विजेता इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि नेपाल चार रनले पराजित भएको थियो।

दोस्रो खेलमा नवप्रवेशी इटालीसँग अप्रत्यासित रूपमा १० विकेटको हार बेहोरेपछि नेपालको सुपर–८ पुग्ने सम्भावनामा ठूलो धक्का लागेको थियो। त्यसपछि तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले पराजित भएको नेपालले समूह चरणको अन्तिम खेलमा भने स्कटल्यान्डलाई सात विकेटले हराउँदै प्रतियोगिता समाप्त गरेको थियो।

नेपालसँगै समूह चरणबाट बाहिरिएका इटाली, संयुक्त अरब इमिरेट्स (यूएई) र नेदरल्यान्ड्सले पनि समान २ लाख ५६ हजार १ सय ५४ अमेरिकी डलर पुरस्कार पाएका छन्।

टी–२० विश्वकपमा कुल १ करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार रकम राखिएको थियो। प्रतियोगिताको विजेता भारतले २६ लाख ३९ हजार ४ सय २३ अमेरिकी डलर प्राप्त गरेको छ भने उपविजेता न्युजिल्यान्डले १४ लाख २२ हजार ६ सय २ अमेरिकी डलर पुरस्कार पाएको छ।

यसैगरी सेमिफाइनलमा पराजित भएका दक्षिण अफ्रिकाले १० लाख ५ हजार ५ सय ७७ र इंग्ल्यान्डले ९ लाख ७४ हजार ४ सय २३ अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्। फाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै लगातार दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो।

सुपर–८ मा पुगेका वेस्ट इन्डिजले ५ लाख ३८ हजार २ सय ६९, पाकिस्तानले ५ लाख २२ हजार ६ सय ९२, जिम्बावेले ४ लाख ९१ हजार ५ सय ३८ र श्रीलंकाले ४ लाख ७५ हजार ९ सय ६२ अमेरिकी डलर पुरस्कार पाएका छन्।

समूह चरणबाटै बाहिरिएका अफगानिस्तान, अस्ट्रेलिया र अमेरिकाले ३ लाख ९ हजार ८ सय ८ अमेरिकी डलर पाउँदा स्कटल्यान्डले २ लाख ७८ हजार ६ सय ५४ र आयरल्यान्डले २ लाख ७१ हजार ७ सय ३१ अमेरिकी डलर प्राप्त गरेका छन्।

यस्तै क्यानडा, नामिबिया र ओमानले २ लाख २५ हजार अमेरिकी डलर पुरस्कार पाएका छन्। प्रतियोगितामा कुल २० टोली सहभागी थिए, जसलाई चार समूहमा विभाजन गरिएको थियो।

प्रतिक्रिया