सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरण: योजनाकार लोकसेवा प्रतिस्पर्धी


काठमाडौं- सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्या सम्बन्धी अनुसन्धानले हत्या योजना लोकसेवा आयोगका प्रतिस्पर्धी गणेश महतोले बनाएको पत्ता लगाएको छ। गत फागुन ३ गते साँझ गोली प्रहारबाट सब–इन्जिनियर यादवको हत्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सरोज राईका अनुसार, मृतक यादव र महतो लोकसेवा आयोगको परीक्षामा प्रतिद्वन्द्वी थिए। वैकल्पिकतर्फ १ नम्बर सूचीमा रहेका महतोले यादवको हत्या गरेर उनको सिटमा जागिर पाउने योजना बनाएका थिए।

एसपी राईले भने, “आरोपी महतो लोकसेवाका प्रतिस्पर्धी हुन् र उनको योजनामा सब–इन्जिनियरको हत्या भएको देखिन्छ।”

प्रहरीले यस हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा गणेश महतो, चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतो समावेश छन्। महोत्तरीको रामगोपालपुर नगरपालिका घर भएका गणेश महतो नेपाल–भारत सीमाबाट पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूको अनुसन्धानका लागि प्रहरीले अदालतबाट १५ दिनको म्याद पाएका छन्।

प्रतिक्रिया