
डडेल्धुराका विपिनकाे साइबर सुरक्षामा ठूलाे सफलता, एप्पल र युनेस्कोबाट पाए सम्मान
डडेल्धुरा- डडेल्धुराका युवा साइबर सुरक्षा अनुसन्धानकर्ता विपिन साउदले अन्तर्राष्ट्रिय स्तरमा एप्पल र युनेस्कोबाट प्रशंसा प्राप्त गर्दै आफ्नो नाम उजागर गरेका छन्। उनले त्याे कम्पनी र संस्थाकाे प्रणालीमा रहेका गम्भीर कमजोरीहरू पत्ता लगाइ सुधारका लागि रिपोर्ट गरेका थिए। यसका लागि एप्पल र युनेस्कोले औपचारिक प्रशंसा पत्र प्रदान गरेका छन्। यसअघि उनले अमेरिकी अन्तरिक्ष एजेन्सी नासा, फेसबुक/इन्स्टाग्राम (मेटा) र अन्य ठूला कम्पनीहरूको प्रणालीमा रहेका गम्भीर कमजोरीहरू पत्ता लगाइ सुधारका लागि रिपोर्ट गरेका थिए। जसका कारणा नासासहित सिङ्गापुर, डच सरकार, अमेरिकी सरकार र अस्ट्रेलियाली सरकारले पनि उनललाई सम्मान गरेका थिए।
साउदले नासाको प्रणालीमा रहेका खतरनाक त्रुटिहरू पत्ता लगाएका थिए। अनुसन्धान प्रतिवेदनमा सार्वजनिक रूपमा उपलब्ध गुगल ड्राइभ लिंकमा ‘टुटेको पहुँच नियन्त्रण’ नामक कमजोरीका कारण संवेदनशील अनुसन्धान कागजात, कर्मचारीको व्यक्तिगत विवरण र @nasa.gov इमेल भएका फाइलहरू जोकोहीले हेर्न, सम्पादन गर्न वा मेटाउन सक्ने अवस्था थियो। उनले बग क्राउड प्लेटफर्ममार्फत ती कमजोरीहरू नासालाई रिपोर्ट गरेका थिए। नासाको सुरक्षा टोलीले ती त्रुटिहरूलाई गम्भीर स्तरमा राखेर समाधान गर्यो र साउदलाई प्रशंसा पत्र प्रदान गर्यो।
साउदले यसअघि फेसबुक/मेटा प्रणालीमा भएको गोपनीयता सम्बन्धी कमजोरी पत्ता लगाई १ हजार अमेरिकी डलर पुरस्कार पनि जितिसकेका छन्। हाल टेक्सस इन्जिनियरिङ कलेजमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि अन्तिम वर्षमा अध्ययनरत उनी वेभ विकासबाट वेभ सुरक्षा तथा बग पत्ता लगाउने अभियानमा सक्रिय छन्।
उनी हालसम्म ५० भन्दा बढी कम्पनीका प्रणालीमा कमजोरी पत्ता लगाइसकेका छन् र लाखौं रुपैयाँ कमाइसकेका छन्। आफ्नै आम्दानीबाट अध्ययन खर्च धान्दै आएका साउदले परिवारलाई समेत आर्थिक सहयोग गरिरहेका छन्। विदेश जाने सोच नराखेका उनी नेपालमै बसेर डलर र युरोमा कमाइ गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो नाम उजागर गरिरहेका छन्।
साउदका सफलता प्रविधि क्षेत्रमा रुचि राख्ने नेपाली युवा पुस्ताका लागि प्रेरणादायी बनेको छ। ‘हाम्रो ठाउँका मानिसहरूले प्रविधिको क्षेत्रमा पनि केही गर्नुपर्छ। डडेल्धुरालाई चिनाउनुपर्छ,’ उनले भने।



कागजपत्र |
