त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ


काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट शुक्रबार करिब ११ किलोग्राम २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बेग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद, र ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले मोहम्मद जुनैद र समीना अख्तर बेग मिर्जालाई करिब ३ किलो ८७० ग्राम र अफसानालाई करिब ७ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरेको जानकारी प्रवक्ता काफ्लेले दिए।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि आजै लागूऔषध नियन्त्रण ब्युरोतर्फ पठाइएको छ।

प्रतिक्रिया