
धरहरा संरचनाको पार्किङ र व्यवस्थापन काठमाडौं महानगरलाई हस्तान्तरण
काठमाडौं- धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारीसाधन पार्किङ सञ्चालनको व्यवस्थापन अब काठमाडौं महानगरपालिकाले गर्ने भएको छ।
सुन्धरास्थित धरहरा क्षेत्रमा शुक्रबार नेपाल सरकार र काठमाडौं महानगरपालिकाबीच भएको संयुक्त बैठकले पार्किङ र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो। बैठकले महानगरलाई महानगर प्रहरी बल परिचालन गरेर पार्किङ सञ्चालन गर्न जिम्मेवारी दिने सहमति गरेको छ।
बैठकमा धरहरा क्षेत्रको सञ्चालनका लागि तत्काल र दीर्घकालीन योजना, परियोजना सञ्चालन र प्रारूप सम्बन्धी अध्ययन गर्न शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाका पदाधिकारीको संयुक्त समिति गठन गर्ने निर्णय पनि गरिएको छ। त्यस्तै, धरहाराको बाहिरी संरचनासम्बन्धी आवश्यक कार्यमा पनि महानगरलाई जिम्मेवारी दिइने भएको छ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिँदै भनिन्, “समग्र धरहरा सञ्चालनका लागि पूर्ण रूपमा महानगरलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ।”
शहरी विकास मन्त्री प्रा.डा. कुमार इङ्नामले भने, “सुन्धाराको बाहिरी स्वरुपको व्यवस्थापन काठमाडौं महानगरले गर्नेगरी सहमति भएको छ। यसको सम्पूर्ण आर्थिक दायित्व महानगरले लिनेछ। पार्किङ र सुरक्षाको विषयमा तत्कालै काम अगाडि बढाइनेछ।”
मन्त्री इङ्नामका अनुसार, महानगरको मागबमोजिम धरहराको पूरै व्यवस्थापन हस्तान्तरणका लागि समिति गठन गरिनेछ र समितिले आवश्यक मोडालिटी तयार गर्नेछ। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।



कागजपत्र |
