राजा वीरेन्द्रको शालिकमा रास्वपा कार्यकर्ताले अभद्र व्यवहार गरेको भन्दै राप्रपाको आपत्ति


बुटवल –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले दाङको तुलसीपुर वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले गरेको अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ।

प्रदेश सचिव राजेन्द्र अधिकारीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, रास्वपा सभापति रवि लामिछानेको दाङ आगमनका क्रममा उनका कार्यकर्ताले राजा वीरेन्द्र शाहको शालिकमाथि चढेर देखाएको व्यवहार अपमानजनक र अभद्र रहेको उल्लेख छ। राप्रपाले यस कार्यको कडा भर्त्सना गर्दै खेद प्रकट गरेको छ।

विज्ञप्तिमा राप्रपाले भनिएको छ, “कसैको आस्थामा असर पर्ने अराजक गतिविधि सह्य हुने छैन। सम्बन्धित घटनाबारे रास्वपाले सार्वजनिक रूपमा धारणा स्पष्ट पार्दै माफी माग्नुपर्छ। साथै यस्ता घटना पुनः नदोहोरिने प्रतिबद्धता जनाउनुपर्नेछ।”

राप्रपाले निर्वाचनको सन्दर्भमा मतदाताले निर्धक्क मतदान गर्न सक्ने वातावरण निर्माण गर्नु सबै राजनीतिक दलको दायित्व भएको उल्लेख गर्दै, स्वस्थ प्रतिस्पर्धाको वातावरण कायम राख्न र अन्य दललाई असर पर्ने गतिविधि नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया