डिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र, सातजनाको गिरोह पक्राउ


काठमाडौं-  नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने तथा प्रयोग गर्ने कार्यमा संलग्न सात जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार तनहुँको म्याग्दे गाउँपालिका–७ घर भएका १९ वर्षीय किरण सिंह ठकुरीले डिभी प्रयोजनका लागि काठमाडौँस्थित अमेरिकी दूतावासमा कक्षा १२ उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। उक्त प्रमाणपत्र प्रमाणीकरणका लागि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीमा पठाइएपछि कागजात नक्कली भएको पुष्टि भएको थियो।

राष्ट्रिय परीक्षा बोर्डबाट प्रमाणपत्र नक्कली भएको जानकारी आएपछि प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा ठकुरीले प्रयोग गरेको नक्कली प्रमाणपत्र बनाइदिने तथा प्रक्रियामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्दै प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

विशेष प्रहरी टोलीले माघ १५ र १६ गते सञ्चालन गरेको अपरेसनमा यो धन्दामा संलग्न सात जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा मुख्य आरोपी किरण सिंह ठकुरीसहित पर्वत फलेवासका ४० वर्षीय अनिल शर्मा, काठमाडौँ तारकेश्वरका ३४ वर्षीय लक्ष्मण बस्नेत, नुवाकोट ककनीका ४२ वर्षीय केशव फुयाँल, नुवाकोट तादीका ४७ वर्षीय विष्णु पाण्डे, काठमाडौँ महानगरपालिका–२ की ४३ वर्षीया दीपा लावती र गुल्मीका ५२ वर्षीय शोभाखर खनाल रहेका छन्।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका सबैलाई लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आइतबार जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ। प्रहरीले नक्कली प्रमाणपत्र बनाउने गिरोहको अन्य सदस्य र सम्भावित सञ्जालबारे पनि थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया