
म सत्ताको भागबण्डामा सहभागी हुँदिनँ : प्रचण्ड
काठमाडौं- नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको भागबण्डामा आफू सहभागी नहुने स्पष्ट पारेका छन्। आइतबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत दाहालले आफूलाई अन्य पुराना नेताहरूको सूचीमा नराख्न आग्रह गर्दै सत्ताकै लागि गरिने सम्झौताबाट टाढा रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।
दाहालले भने, “आजको यो घडी मेरा लागि केवल सत्ताको कुरा होइन, यो देशको भविष्य र विशेष गरी जेन–जीका छोराछोरीहरूको सपनाको कुरा हो। धेरैलाई म पनि अरु पुराना नेताजस्तै लाग्न सक्छ, तर म स्पष्ट भन्न चाहन्छु म सत्ताको भागबण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्न, जसले देशलाई बन्धक बनाएको छ।”
उनले आफ्नो राजनीतिक जीवन व्यक्तिगत त्याग, पीडा र संघर्षले भरिएको उल्लेख गर्दै परिवारका सदस्य मात्र होइन, हजारौँ सहयोद्धा र सहयात्री गुमाएको स्मरण गरे। सन्तान, जीवनसंगिनी र सहयोद्धाहरू गुमाइसकेपछि आफूलाई अब सत्ताको लोभ नरहेको उनको भनाइ थियो।
“म त्यो पिता हुँ जसले आफ्नै आँखाअगाडि जेठी छोरी ज्ञानु र जवान छोरा प्रकाश गुमाएँ। म त्यो श्रीमान् हुँ जसकी जीवनसंगिनीले बीच बाटोमै साथ छोडिन्,” दाहालले भावुक हुँदै भने।
उनले परिवार र सहयात्रीहरूको बलिदान खेर जान नदिने दृढता व्यक्त गर्दै भ्रष्टाचारको अन्त्य, पारदर्शिता र बलियो सरकार निर्माणको एजेन्डा आफूले जनयुद्धका दिनदेखि नै उठाउँदै आएको दाबी गरे। युवाहरूले अहिले उठाइरहेका मागहरू आफ्नै दीर्घकालीन राजनीतिक एजेन्डासँग मेल खाने दाहालको भनाइ छ।
राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेको दोहोर्याउँदै उनले संसदीय प्रणालीभित्रको कुर्सी तानातानले देशलाई पछाडि धकेलेको टिप्पणी गरे। “मेरो माग र तपाईंहरूको माग एउटै हो,” उनले भने।
सम्बोधनका क्रममा दाहालले हलिउड फिल्म ‘द डार्क नाइट’ (२००८) को चर्चित संवाद पनि उद्धृत गरे। “या त तिमी नायकका रूपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित रह,” भन्ने संवाद स्मरण गर्दै उनले आफू खलनायकका रूपमा इतिहासमा दर्ज हुन नचाहेको स्पष्ट पारे।
“यदि म धेरैअघि बिदा भएको भए सायद देशले मलाई नायकका रूपमा मात्र सम्झिन्थ्यो होला। तर म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ,” उनले भने, “देशलाई सही दिशामा नपुर्याएसम्म म विश्राम लिने छैन।”
आफू नयाँ विचार र नयाँ पुस्ताका लागि सधैँ खुला रहेको उल्लेख गर्दै दाहालले सामाजिक सञ्जालको भ्रमबाट सचेत रहन युवाहरूलाई आग्रह गरे। “हरेक चम्किलो चिज हिरा हुँदैन,” भन्दै उनले स्वतन्त्र चिन्तन, प्रश्न गर्ने साहस र आलोचनालाई स्वागत गर्ने बताए।
“प्रश्न सोध्न नछोड्नुस्। म जवाफ दिन तयार छु। मलाई दबाब दिनुस्, म सामना गर्न तयार छु—किनकि मेरो शक्तिको स्रोत तपाईंहरू नै हो,” भन्दै उनले सम्बोधन टुंग्याए।



कागजपत्र |
