निर्वाचन आचारसंहिता उल्लंघन: आयोगद्वारा २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण


काठमाडौं-  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ। आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा स्पष्टीकरण मागिएको जानकारी दिए।

उनका अनुसार स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटा उजुरीमा जवाफ प्राप्त भइसकेको छ। आचारसंहिता उल्लंघनका घटनाको अध्ययन र विश्लेषणका लागि आयोगले विशेष कार्यदल गठन गरेको छ। उक्त कार्यदलले प्राप्त जवाफका आधारमा कारबाही गर्ने वा नगर्नेबारे निर्णय गरी केन्द्रीय आचारसंहिता अनुगमन समितिमा सिफारिस गर्ने प्रवक्ता भट्टराईले बताए।

नियतवश आचारसंहिता उल्लंघन भएको पुष्टि भए आयोगले कानुनअनुसार कारबाही गर्ने उनले स्पष्ट पारे। आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्लास्तरमा समेत अनुगमन व्यवस्था गरिएको आयोगले जनाएको छ।

आर्थिक पक्षको अनुगमनका लागि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुखलाई र अन्य विषयको अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृत तोकिएको प्रवक्ता भट्टराईले जानकारी दिए।

निर्वाचन आयोगले डिजिटल माध्यमबाट मिथ्या सूचना प्रवाह गर्नेहरूको पहिचान गरी कारबाही गर्न सिफारिस गरेको छ। आयोगअन्तर्गतको निर्वाचन सूचना संप्रेषण तथा समन्वय केन्द्र (ईआईडीसी) ले गलत, मिथ्या तथा घृणास्पद अभिव्यक्ति फैलाउने सामग्रीहरूको निगरानी गर्दै आएको छ।

प्रवक्ता भट्टराईका अनुसार १२० वटा हानिकारक सामग्री विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ। यस्तै, ६ वटा सामग्री दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणमा, १५ वटा सामग्री प्रेस काउन्सिल ऐन, २०४८ अन्तर्गत प्रेस काउन्सिल नेपालमा र ३४ वटा सामग्री निर्वाचन आचारसंहिता, २०८२ उल्लंघनसम्बन्धी केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ।

त्यसैगरी आयोगको कल सेन्टरमा हालसम्म १ हजार ६७७ वटा प्रश्न प्राप्त भएको आयोगले जनाएको छ। तीमध्ये सबैभन्दा धेरै ९०६ वटा प्रश्न मतदाता नामावलीसम्बन्धी रहेका छन्। आचारसंहितासम्बन्धी १३५, मतदाता शिक्षासम्बन्धी ६१ तथा अन्य विषयका ५७५ वटा प्रश्न आएको प्रवक्ता भट्टराईले जानकारी दिए।

प्रतिक्रिया