
बालेन अछाम पुगेका बेला भिडमा महिलाको सिक्री लुट्ने युवक रंगेहात पक्राउ
अछाम- अछाममा एक महिलाले लगाएको सुनको गहना लुटेको आरोपमा एक युवक पक्राउ परेका छन्। महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटेको आरोपमा पर्सा जिल्लाको मैनपुर गाउँपालिका–५ घर भएका ३१ वर्षीय उमेश रायलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
घटना साँफेबगर क्षेत्रमा भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह अछाम पुगेका बेला मानिसहरूको ठूलो भिड लागेको थियो। सोही भिडभाडको मौका छोपेर रायले स्थानीय एक महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने प्रयास गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ओमप्रसाद खनालका अनुसार रायलाई सिक्री चोरी गर्दै गर्दा रंगेहात पक्राउ गरिएको हो। ‘महिलाको घाँटीमा हात हालेर सिक्री निकाल्ने क्रममा अन्य व्यक्तिहरूले देखेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो,’ डिएसपी खनालले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक मीनबहादुर धामीका अनुसार हाल राय प्रहरी हिरासतमा छन्। प्रारम्भिक सोधपुछमा रायले आफू काठको काम गर्ने व्यक्ति भएको र काम खोज्दै अछाम आएको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
