दुईचार हजारमा बिक्ने मान्छे सिधै नर्क जान्छ: महाविर पुन


म्याग्दी-  म्याग्दी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार महावीर पुनले मतदातालाई पैसाको प्रलोभनमा नपर्न आग्रह गरेका छन्। चुनावी प्रचारका क्रममा मत माग्दै उनले पैसामा मत बेच्नु भविष्यका पुस्ताप्रति ठुलो धोका हुने बताएका हुन्।

क्षेत्र नम्बर १ मा मतदातासँगको भेटघाटमा पुनले भने, ‘दुई–चार हजार, पाँच–सात हजार वा आठ–दश हजारमा मत बिक्यो भने त्यो व्यक्ति सिधै नर्कमा जान्छ। किनभने उसले हाम्रो भविष्यका छोरा–नातिलाई धोका दिएको हुन्छ। अहिले पैसामा बिक्नु भनेको भोलि छोरा–नातिले दुःख पाउनु हो।’

उनले पैसामा मत बेच्ने प्रवृत्तिले आगामी पुस्ताको भविष्यमा गम्भीर असर पार्ने उल्लेख गर्दै यसलाई पापको रूपमा चित्रित गरे। ‘छोरा–नातिको श्राप लाग्छ। पैसामा बिक्ने मान्छे श्राप लागेर सिधै नर्कमा जान्छ र के–के गरेर कुटाइ खान्छ,’ पुनले मतदातालाई सम्बोधन गर्दै भने।

उनको भनाइले चुनावमा पैसाको प्रभाव बढ्दै गएको सन्दर्भमा नैतिकता र जिम्मेवार मतदानीको विषयलाई जोडदार रूपमा उठाएको देखिन्छ।

प्रतिक्रिया