
जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगन्जबाट पक्राउ
वीरगन्ज- जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका एक कैदी वीरगन्जबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीरगन्ज–१६, नगवाका २३ वर्षीय प्रविन चौरसिया रहेका छन्। ठगी मुद्दामा अदालतबाट सजाय तोकिएका चौरसियालाई बुधबार दिउँसो २ बजे वीरगन्ज–१५, रामनगर चोकबाट नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली र प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। अदालतले चौरसियालाई ठगी मुद्दामा ५ वर्ष ६ महिनाको कैद र ८७ हजार ५ सय रुपैयाँ जरिवानासहित सजाय तोकेको थियो।
पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई वीरगन्ज कारागारमा राखिएको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।



कागजपत्र |
