
चन्द्रौटामा म लखेटिएको हैन, जिबब हुन् : ज्योति मगर
काठमाडौं- गायिका ज्योति मगरले चन्द्रौटामा आफू लखेटिएको भन्ने समाचार पूर्ण रूपमा भ्रामक भएको स्पष्ट पारेकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले उक्त समाचारको खण्डन गरेकी हुन्।
ज्योति मगरले समाचारमा उल्लेख गरिएको दिन आफू दाङको घोराहीमा प्रस्तुति दिइरहेको बताउँदै त्यहाँको कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको जानकारी दिएकी छन्। चन्द्रौटामा आफू सहभागी नै नभएको कार्यक्रममा आफ्नो नाम जोडेर गलत सूचना फैलाइएको भन्दै उनले आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले व्यङ्ग्यात्मक शैलीमा भ्रामक समाचार फैलाउनेहरूप्रति कटाक्षसमेत गरेकी छन्।
‘मेरा प्यारा दुस्मनहरू, शुभ प्रभात,’ भन्दै उनले लेखेकी छन्, ‘चन्द्रौटामा ज्योति मगर लखेटिइन् भन्ने भ्रामक समाचारले तपाईंको हड्डी हाँसिरहेको बेला त्यो कार्यक्रम जिबब भन्ने र्यापार भाइको रहेछ भन्ने थाहा पाउँदा तपाईंको मनमा कति चोट पर्यो होला, त्यो म बुझ्न सक्छु।’
उनले अगाडि थप लेखेकी छन्, ‘भ्रामक समाचार फैलाउने र त्यही समाचार सुनेर आत्मरतिमा रमाउने सम्पूर्ण दुस्मनहरूको यो दुःखद घडीमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु।’



कागजपत्र |
